एनपिएल : आज खेल नहुने

काठमाडौं । यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे  हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।  सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।  

डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेकाे छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ । यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शक एकैसाथ आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर विकसित गरिएको ‘खुशी’ नेपाली भाषामा प्राकृतिक, मानव–जस्तै आवाजमा संवाद गर्न सक्षम छ । यसले सेवा निष्क्रिय भएका ग्राहकसँग निरन्तर सम्पर्क राखेर पुनःनवीकरणमा प्रेरित गर्ने, प्रतिक्रिया तथा गुनासो सङ्कलन गरी सेवा केन्द्रसम्म पुर्याउने र कुराकानीकै आधारमा भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ । नेटवर्क अवरोध वा अन्य प्राविधिक समस्या देखिएमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकलाई कलको क्रममा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगतिबारे तुरुन्त जानकारी दिन पनि सक्षम बनाइने कम्पनीको दाबी छ।  आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण अभिलेख अद्यावधिक र सेवा तथा प्राविधिक मर्मतको समय व्यवस्थापनमा प्रयोग गर्ने तयारी गरेको छ । फेसबुक मेसेन्जर र वेबच्याटमा प्रयोग भैरहेका सामान्य च्याटबोटमा ‘खुशी’ एकीकृत गर्ने कार्य जारी रहेको र छिट्टै यो सेवा व्हाट्सएप तथा भाइबरमा पनि विस्तार गरिने जनाएको छ । कम्पनीका अनुसार नेपाली भाषामा आधारित संवाद प्रणालीलाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी दीर्घकालीन परियोजना अघि बढाउने तयारीसमेत भइरहेको छ । कम्पनीका प्रवक्ताका अनुसार ‘खुशी’ को सार्वजनिकतासँगै डिशहोम अधिक डिजिटल, छरितो र मानवीय–शैलीअनुकूल ग्राहक सेवा प्रविधितर्फ अघि बढेको छ, जुन नेपालमा भोइस एआईको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ ।

नेपाल इन्स्योरेन्सद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ र २० गते सामाखुशीमा आयोजना गरेको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल बीमा प्राधिकरण, जीवन/ निर्जीवन, लघु र पुनर्बीमा कम्पनीहरू, सर्भेयरहरू सहित २५ संस्थाहरूबाट २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेको इन्स्योरेन्स लिमिटेड प्रथम, नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड द्वितीय र हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड तृतीय भएको छ । उक्त टीमका खेलाडीहरूलाई कम्पनीको संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल माईक्रो इन्स्योरेन्सका रोमन सिंह उत्कृष्ट गोलरक्षक, हिमालयन एभरेष्टका सुनिल थापा उत्कृष्ट डिफेन्डर, हिमालयन एभरेष्टकै दिनेश कुमार सिंह उत्कृष्ट गोलकर्ता भएका छन् भने नेको इन्स्योरेन्सका युकेश तामाङ्ग टुर्नामेन्टका उत्कृष्ट खेलाडी चयन भएका छन् । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए बापत रेफ्रिहरू र उक्त प्रतियोगिताका लागि मैदान उपलब्ध गराइदिने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका अध्यक्षले मायाको चिनो दिएका थिए ।