बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर, आफैँले दिएका सुझाव कार्यान्वयनमा चुक्दै अर्थमन्त्री
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट आएको तीन महिना बित्न लाग्दा कार्यान्वयनको अवस्था पोहोरको कमजोर देखिएको छ । सुस्त सरकारी कार्यशैली, पछिल्ला दिनमा भएका आन्दोलनको प्रभाव चालु बजेटमा देखिएको हो । सरकारी खर्च, आम्दानीको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले असोज २५ गतेसम्म कुल राजस्व लक्ष्यको १४.७९ प्रतिशत उठाएको छ । अघिल्लो वर्षको यस अवधिमा सरकारले कुल राजस्व १६.६६ प्रतिशत उठाइसकेको थियो । खर्च प्रणाली पनि सरकारको उस्तै कमजोर देखिएको छ । असोज महिना सकिनै लाग्दा अहिलेसम्म सरकारले कुल बजेट १७.२ प्रतिशत खर्च गरेको छ । अघिल्लो आवको यही अवधिमा सरकारले १७.६८ प्रतिशत बजेट खर्च भएको थियो । कुल बजेट मध्ये चालु आवको समीक्षा अवधीमा तलब भत्तासहितमा हुने खर्च अर्थात चालुतर्फ विनियोजित बजेटको २०.११ प्रतिशत बजेट खर्चेको छ भने विकास बजेट एकदमै कम अर्थात विनियोजितको ८ प्रतिशत मात्रै खर्चेको छ । रोचक कुरा त, उच्चस्तरीय आर्थिक सुधार आयोगका अध्यक्ष भएर सरकारलाई केही महीनापहिल्यै सरकारी प्रणालीमा रहेका समस्याहरू सुधारका लागि प्रतिवेदन बुझाएका उनै रामेश्वर खनाल अहिले अर्थमन्त्री छन् । उनै अर्थमन्त्री खनाल आफैँले बनाएका सुझावसहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने तहमा पुगेपनि केही गर्न सकेका छैन् । बजेट कार्यान्वयनमा समेत आफैँले देखाएका समस्यालाई समाधान गर्न खनाल चुक्दै गएको सरकारी निकायले उपलब्ध गराएको तथ्यले प्रष्ट पारेको छ ।
नेविसंघले बालेन र सुदनविरुद्ध प्रहरीमा दियो उजुरी
काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जेड युवा आन्दोलनमा घटेका घटनाका सम्बन्धमा उनीहरू विरुद्ध अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो । नेविसंघले बालेन र सुदनले विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन उक्साएको, आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ । संगठनले उनीहरूमाथि तत्काल अनुसन्धान सुरु गर्न माग गरेको छ । उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन् । उनीहरूले प्रहरीलाई २४ घण्टाभित्र उजुरी दर्ता गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा भएको दमनका विरोधमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि जाहेरी दिएका थिए । सो घटनापछि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गरेको थियो ।
केराबारीबाट ५५ राउण्ड गोली बरामद
भद्रपुर । यहाँको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ । स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए ।