इलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै, जित्नेले विराटनगर किङ्ससँग खेल्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज अपरान्ह ४ बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।
विराटनगर ७८ रनमै अलआउट : सानदार जितसहित सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उपाधि नजिक पुग्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्समाथि ७७ रनको सानदार जित निकाल्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । लिग चरणमा विराटनगरसँग ब्यहोरेको हारको बदला सुदूरपश्चिमले सबैभन्दा महत्त्वपूर्ण खेलमा लिएको छ । १५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर बोल्ट्स सुदूरपश्चिमको कसिलो बलिङसामु निरिह सावित भयो । बलियो ब्याटिङ लाइनअप भएको विराटनगर १४.१ ओभरमा मात्र ७८ रनमा अलआउट भयो । यो एनपीएलको जारी सिजनकै सबैभन्दा कम स्कोर हो । यसअघि चितवन राइनोजले बनाएको ८९ रनको खराब कीर्तिमानलाई तोड्दै विराटनगरले लज्जास्पद प्रदर्शन गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलाई सम्मानजनक स्कोरमा पुर्याउन ओपनर विनोद भण्डारी नायक सावित भए । एक छेउबाट विकेट झरिरहँदा पनि क्रिजमा डटेका भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रनको अर्धशतकीय इनिङ खेले । १८औं ओभरको अन्तिम बलसम्म टिकेका उनकै इनिङको जगमा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो। टोलीका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०-२० रनको योगदान दिए । जवाफी ब्याटिङमा विराटनगरको सुरुआत निकै दयनीय रह्यो । ओपनर साम हिजलेट पहिलो बलमै (गोल्डेन डक) र नरेन भट्ट शून्यमै आउट भए । मार्टिन गुप्टिल (३ रन) दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि विराटनगरको इनिङ धर्मरायो । विराटनगरका लागि फाफ डुप्लेसीले एक्लै संघर्ष गर्दै २९ बलमा ३६ रन (३ चौका, १ छक्का) बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । बलिङमा सुदूरपश्चिमको दबदबा सुदूरपश्चिमको जितमा बलरहरुले सामूहिक प्रदर्शन गरे। स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २-२ विकेट लिए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १-१ विकेट हात पारे । मार्टिन गुप्टिल र प्रतीस जीसी रनआउटको शिकार भए । पहिलो क्वालिफायरमा हारे पनि विराटनगर बोल्ट्सको उपाधि सपना सकिएको छैन । विराटनगरले अब दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । अब विराटनगरले इलिमिनेटर खेल (काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेमा विराटनगरले फाइनलमा पुनः सुदूरपश्चिमसँगै उपाधिका लागि भिड्नेछ ।
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा
चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि भरतपुर महानगरपालिकाको टोली काठमाडौं पुगेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोली काठमाडौं पुगेका हुन् । महानगरपालिका प्रमुख दाहालकाअनुसार टोलीले मंगलबार प्रधानमन्त्री, अर्थ मन्त्री एवं युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव, मन्त्रालयका सचिवहरुलाई भेटेर रङ्गशालाको रकम भुक्तानी सहजीकरणका लागि छलफल गर्नेछ । महानगरपालिकालाई अप्ठ्यारो नपर्ने गरी जतिसक्दो चाँडो भूक्तानी गर्न आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने उनले जानकारी दिइन् । धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले १५ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन । महानगर प्रमुख दाहालले भने, 'हामी यथासक्य छिटो भुक्तानी गर्न चाहन्छौँ । प्रक्रियामा सहजीकरण गरिदिनुपर्यो ।' महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फाउण्डेशनलाई रकम भुक्तानी गर्न चाहेको तर ऐन कानुनका कारण असहज भएको बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सङ्घीय सरकारले सिर्जित सम्पत्ति खरिद गर्न भनेर महानगरलाई १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए । सिर्जित सम्पत्ति खरिद शीर्षकमा रकम छु्ट्याएको र यसरी छुट्याइएको रकम सार्वजनिक खरिद ऐन अनुसार मात्र खर्च गर्न मिल्ने उनले बताए । उनले सो बजेट अनुदानका रुपमा प्राप्त नगरेकाले भुक्तानीमा नीतिगत अन्योल भएको बताए । उनले भने, 'फाउण्डेशन मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको संस्था नभएको र सार्वजनिक खरिद ऐनअनुसार रकम भुक्तानी गर्दा भ्याट तिर्नुपर्ने भएकाले यो विषय अड्किएको हो ।' महानगरकै आग्रहमा फाउण्डेशनले रङ्गशाला बनाएको र नसकेपछि जिम्मेवारी महानगरलाई हस्तान्तरण गरेको थियो । फाउण्डेशनले छोडेपछि विसं २०८० कात्तिक २१ मा भरतपुर महानगरपालिका र बाग्मती प्रदेश सरकारबीच मिलेर रङ्गशाला निर्माण अगाडि बढाउने सहमति भएको थियो । सो सहमतिपछि सङ्घीय सरकारले यो रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो । फाउण्डेशनले हस्तान्तरण गरेको निर्माण महानगरले विसं २०८१ को असारदेखि अगाडि बढाइसकेको छ । हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ । फाउण्डेशनले रु ५७ करोड १२ लाख बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ । जसमध्ये रु १८ करोड ४३ लाख उधारो रहेको जनाइएको छ । फाउण्डेशनले विसं २०७५ माघ १६ मा काठमाडौंमा गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । त्यसलगत्तै फाउण्डेशन र भरतपुर महानगरबीच रङ्गशाला निर्माणको सम्झौता भएको थियो । जसमा महानगरले जग्गा उपलब्ध गराउनुपर्ने, उक्त जग्गामा रङ्गशाला बनाउन अनुमानित रु तीन अर्ब लाग्ने र त्यो खर्च फाउण्डेशनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संस्था, सबै निकायसँग आह्वान गरी नगद या जिन्सी सहयोग लिने उल्लेख छ । रासस