एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।      एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो ।      'हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ' उनले भने, 'टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।'      महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ । गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी सङ्ख्या घटाएको थियो । एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन् ।      एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनको बन्दसत्र भने भृकुटीमण्डपमा हुने जनाइएको छ ।

कांग्रेसले क्रियाशील सदस्यता फारम दुई दिनमा सबै क्षेत्रमा पुर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति औपचारिक रूपमा घोषणा गरेसँगै पार्टीले क्रियाशील सदस्यताको प्रक्रिया छिट्टै टुङ्ग्याउने तयारी गरेको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिले १६५ निर्वाचन क्षेत्रमा दुई दिन भित्र पार्टी सदस्यता पुर्‍याउने तयारी गरेको छ । पार्टीको क्रियाशील सदस्यता संकलन प्रक्रिया गत वर्षदेखि देशभर तीव्र रूपमा चलिरहे पनि टुङ्गिन सकेको छैन । जिल्ला, नगर, गाउँपालिका र वार्डस्तरमा सदस्यता केन्द्रहरू सञ्चालन गरेर सदस्यता नविकरण र वितरण सुरु गरिने समिति सदस्य प्रकाश रसाइलीले जानकारी दिए । रसाइली भन्छन्, 'महाधिवेशनको मिति निश्चित भएसँगै हामीले सदस्यता प्रक्रिया छिटो टुङ्ग्याउने योजना बनाएका छौं । यसले प्रतिनिधि चयन र मतदान प्रक्रियालाई सहज र पारदर्शी बनाउनेछ ।' महाधिवेशनमा प्रदेश, जिल्ला र केन्द्रीय स्तरका प्रतिनिधिहरूको चयन क्रियाशील सदस्यताको आधारमा हुने भएकाले सदस्यताको अन्तिम सूची तयार पार्नु पार्टी नेतृत्वको प्राथमिकता बनेको छ । डिजिटल प्रणालीको प्रयोग गर्ने तयारी पनि भइरहेको छ । यसैबीच, पार्टीले सदस्यता प्रक्रिया पूरा गर्न जिल्लास्तरीय समितिहरूलाई निर्देशन दिइसकेको प्रकाश रसाइलीले बताए ।

कैलालीका सीमानाकामा सुरक्षा जाँचमा कडाइ, शंकास्पद व्यक्ति प्रवेशमा निगरानी

अत्तरिया । कैलालीसँग जोडिएका नेपाल–भारत सीमानाकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ । जिल्लास्थित सीमानाकामा भारतबाट नेपाल प्रवेश गर्नेलाई जाँचमा कडाइ गरिएको हो ।      सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्ति तथा समूह अवैध तरिकाले प्रवेश गर्नसक्ने हुँदा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।      'सुरक्षा चुनौतिलाई दृष्टिगत गरेर जाँचमा कडाइ गरिएको हो', उनले भने, 'शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायहरुमा जानकारी गरी सहयोग गरी दिनहुन सबैमा अनुरोध गरिन्छ ।'      परिचय नखुलेका अपरिचित व्यक्ति वा समूह तथा समुदायलाई आफ्नो घरमा बसोबास नगराउन तथा कुनै कामकाजमा नलगाउन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोधसमेत गरेको छ ।