अपर तामाकोशीको शेयर उच्चतम मूल्यमा कारोबार, लगानीकर्तालाई १२४ प्रतिशत नाफा
काठमाडौं । नेपालकै सबैभन्दा बढी शेयरधनी भएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी हाइड्रोवावरको शेयर आजदेखि कारोबारको लागि खुल्ला गरिएको छ । हाइड्रोपावरको शेयरका लागि नेपाल स्टक एक्सचेञ्जले ७४.८९ रुपैंया देखि २२४.६७ रुपैंयासम्मका कारोबार गर्न सकिनेगरी प्रारम्भिक रेञ्ज तोकिदिएकोमा उच्चतम मूल्यमा कारोबार भएको छ । हाइड्रोपावरले शेयर निष्कासन अनुमति पाएको बेलामा कायम रहेको नेटवर्थदेखि त्यसको तीन गुणासम्ममा आपन रेञ्ज दिनसक्ने प्रावधानबमोजिम उक्त रेञ्ज तोकिएको थियो । रेञ्ज तय भएपछि अब नियमित प्रक्रियाअनुसार कारोबार र मूल्य उचारचढाव प्रक्रिया अघि बढ्नेछ । उक्त कम्पनीको साधारण शेयर र कर्मचारीका लागि जारी गरिएको शेयर आइतबारदेखि एकसाथ खुलेको हो । २२४ मा कारोबार भएसँगै आईपीओका लगानीकर्ताले केही महिनाभित्रै १२४ प्रतिशत नाफा कमाएका छन् ।
नाडेप लघुवित्तको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरका लागि आवेदन दिन आज अन्तिम दिन तोकिएको छ । लघुवित्तले गत मंसिर ७ गतेदेखि १ः१ बराबको हकप्रद शेयर जारी गरेको थियो । नबिल इन्भेष्टमेन्टमार्फत् बिक्री गरिएको उक्त हकप्रद आज बैंकिङ समयसम्म सीआश्वा सेवा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट वा मेरोशेयरका प्रयोगकर्ताले इन्टरनेट सुविधा भएका जुनसुकै स्थानबाट आबेदन दिन सक्नेछन् । आजसम्म आवेदन नदिएकाहरुको शेयर लिलामीमार्फत् बोलकबोलमा बिक्री हुनेछ ।
८ कम्पनीलाई एक अर्ब ३० करोडको हकप्रद सेयर बिक्री गर्न स्वीकृति, हेराैँ क-कसले पाए ?
काठमाडौं । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर १४ करोड तीन लाख ३२ हजार ५०० रुपैयाँमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले ७९ करोड २३ लाख ३० हजार रुपैयाँ बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद सेयर ११ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ । बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद सेयर तीन करोड रुपैयाँ बराबरको सेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले दुई करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ४० हजार २५० कित्ता सेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले तीन करोड २९ लाख ८९ हजार रुपैयाँको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौं क्यापिटल रहेको छ । त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले एक करोड १० लाख रुपैयाँको एक लाख दश हजार कित्ता हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रासस