ब्रोकर कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्दै
खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा २० हजारदेखि एक लाखसम्म शेयर बजारमा लगानी गरेका छन् । “विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने । उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए । एशियन सेक्युरिटिज प्रालि (२६) नं. दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए । एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उनले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताए । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले शेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताए । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ । अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिए । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको बताइएको छ । यता, प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालिम लिन थालेका छन् । यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालिम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ । तालिममा शेयर बजारको वर्तमान अवस्था, खरिद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिए । बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालिम दिएको थियो । दुवै तालिममा ९० जना सहभागी थिए । रासस
बजार झिनो अंकले बढ्याे, छिमेक लघुवित्तको सबैभन्दा बढी कारोबार
काठमाडौं । बुधबारको बजार झिनो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि एक बजेसम्म लगातार बढेर ११८३ अंकमा पुगको थियो । त्यसपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.२९ अंकले बढेर ११७९ अंकमा पुगेको छ । कुल १६६ कम्पनीको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको प्रमोटर सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । जुसको सेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । भार्गव विकास बैंकका लगानीकर्ताले ५.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले घटेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूह क्रमशः १.११ र ०.१८ अंकले घटेका छन् ।
स्वदेशी र नागबेली लघुवित्तको हकप्रद सेयर सूचिकृत
काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो । सो मध्ये स्वदेशीको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।