खानी खोला हाईड्रोपावरको साधारणसभा फागुन ३ गते, कहिले देखि बुक क्लोज ?
काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको छैठौँ वार्षिक साधारणसभा फागुन ३ गते बस्ने भएको छ । उक्त प्रयोजनको लागि आगामी २० गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
अपर तामाकोशीसँगै घट्यो आइतबारको सेयर बजार, दिनभरि अपरमा के के भयो ?
काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ । गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ । अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारमा सर्किट ब्रेकसँगै सिस्टममा केही समस्या आएको थियो र त्यसको करिब १५ मिनेटमै सेयर कारोबार खुल्यो । सर्किट ब्रेक लागेपछि खुलेको बजारमा भने अपरको मूल्य वृद्धिले गति लिन सकेन र त्यसपछि निरन्तर घट्न थाल्यो । अन्ततः बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा सिमित रहेको छ । कम्पनीको मूल्यमा गिरावट आएता पनि सो दिन सबैभन्दा बढी कारोबार भएको छ । जसको एकैदिन २३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको मूल्य घटेसँगै आइतबारको बजार समग्रमा ८.६० अंकले घटेर ११७९.१७ अंकमा झरेको छ । बजारमा कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
शेयर बजार सामान्य अङ्कले घट्यो, २८ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा जलविद्युत् ४०.४१, अन्य २.४८ र लघुवित्त ९.२६ विन्दुले बढेका छन् । यस्तै बैंकिङ २.८१, व्यापार ३.१३, होटल २.७२, विकास बैंक ०.७२, वित्त ०.१२, उत्पादन ४.२४, निर्जीवन बीमा ६२.३६ र जीवन बीमा ४५.२७ विन्दुले घटेको छ । घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छिमेक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, साना किसान विकास बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, काबेली विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्यारेन्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।