नेप्सेमा समान्य वृद्धि हुँदा चौतारी लघुवित्त र नविल बैंकको कराेडाैंकाे काराेबार

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबारको सूचक ०.८४ अंकले बढेर १११३.०७ अंकमा पुगेको छ । समान्य वृद्धि भएको बिहीबारको बजारमा चौतारी लघुवित्त वित्तीय संस्था र नविल बैंकको एक करोड बढीको सेयर किनबेच भएको छ । सबैभन्दा बढी चौतारी लघुवित्तको २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नविल बैंकको एक करोड ३९ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । यी दुबै संस्थाले आ–आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेकाले लगानीकर्ताहरु यी संस्थाको सेयरमा आकर्षित भएका हुन् । चौतारी लघुवित्तले आफ्नो तेस्रो वार्षिक साधारणभा आगामी चैत १६ गते डाकेको छ । यस संस्था मर्जर वा एक्वीजिसनमा जान र कार्यक्षेत्रलाई वृद्धि गरी राष्ट्रिय स्तरको बन्ने तयारीमा रहेको छ । त्यस्तै, नविल बैंक पनि आगामी फागुन २७ गते आफ्नो ३४औँ वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद(करसहित) गरी ३४ प्रतिशत लाभांश पारित गर्ने भएको छ । बिहीबारको बजारमा कुल १५५ कम्पनीको १६ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

राष्ट्र बैंकले रोक्यो स्वावलम्बनको एफपीओ, संस्थापक सेयर स्वामित्व पनि परिवर्तन नहुने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले निष्कासन गर्न लागेको थप सार्वजनिक निष्कासन(एफपीओ) प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोकेको छ । संस्थाले तत्काल जारी गर्न लागेको १० करोड ४८ लाख १४ हजार ८०० रुपैयाँ बराबरको एफपीओको अनुमतिलाई बैंकले रोक्का गरेको हो । संस्थाको संस्थापक र सर्वसाधारणको पुँजी अनुपात ७०ः३० रहेको छ । उक्त पुँजी अनुपातलाई परिर्वतन गरेर ५१ः४९ कायम गर्ने संस्थाको प्रस्तावलाई राष्ट्र बैंकले अस्वीकृत गरेको छ । यी दुबै प्रस्तावलाई यस वित्तीय संस्थाको गत पुस २६ मा सम्पन्न साधारणसभाले अनुमोदन गरिसकेको थियो । त्यसपछि अनुमतिका लागि राष्ट्र बैंकमा पेश गरेको उक्त प्रस्ताव अस्वीकृत भएको वित्तीय संस्थाले बुधबार एक सूचनाद्धारा जानकारी गराएको छ ।

बजारमा हरियाली टिक्न सकेन, नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट

काठमाडौं । लामो समयपछि मंगलबार हरियाली भएको बजार बुधबार पुनः दोहोरो अंकले घटेर राताम्मे भएको छ । मंगलबार २२.४४ अंकले बढेको बजार बुधबार १२.७७ अंकले घटेर १११२.२३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि दिनानुदिन खुम्चिँदै गएको छ । बुधबारको बजारमा कुल १६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा २१ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल १६२ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रो पावरको सेयर किनबेच भएको छ । हाइड्रोको ९३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै, नबिल बैंकको ९० करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा उत्पादन मूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १६७ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ८ अंकले बढेको छ ।