सेयर बजार करेक्सनतर्फ, २५ करोडको कारोबारमा सबैभन्दा बढी ग्लोबल आईएमईको
काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा अर्बको सेयर किनबेच भएको बजारमा बिहीबार जम्मा २५ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ । बैंकको एकैदिन एक करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ६६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६२ अंकले घटेको छ भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् । उता उत्पादनमूलक र अन्य समूह क्रमशः १.१६ र २.२२ अंकले बढेर हरिया देखिएका छन् । बजारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ९.९१ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ । सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।
बोनस र हकप्रद पछि गुराँस लाइफ इन्स्योरेन्सको मूल्य समायोजन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै इन्स्योरेन्सको बोनस र हकप्रद पछिको सेयरकाे मूल्य समायोजन गरेकाे हाे । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९६.२० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६२१.१० रुपैयाँ तोकिएको छ ।
शिवम् सिमेन्टस् र यूनिभर्सल पावर कम्पनीको साढे ६ करोड आईपीओ सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शिवम् सिमेन्टस् लिमिटेड र यूनिभर्सल पावर कम्पनीको साधारण सेयर(आईपीओ) सूचिकृत भएको भएको छ । मंगलबार यी दुई कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा थपिएको छ । जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टस्को ४ करोड ४० लाख कित्ता सेयर थपिएको छ । त्यस्तै, यूनिभर्सल पावरको २ करोड १० लाख ३ हजार ५०० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।