वोमी माइक्रोफाइनान्स पुग्यो धितोपत्र बोर्ड, माग्यो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डको अनुमति मागेको हो । माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले १० लाख १० हजार ८८० कित्ता हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर पछि संस्थाको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्ने छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार १२८ रुपैयाँ रहेको छ ।

त्रिशुली जलविद्युतको आईपीओमा १७ गुणा बढी आवेदन, कति जनाले भरे सेयर ?

काठमाडौं । जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशुली जलविद्युत कम्पनीले चैत ७ गतेदेखि निष्काशन गरेको आइपीओमा करिब १७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६ करोड ६३ लाख ३६ हजार ३२० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा १७.९० गुणा बढी हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३७ लाख ५ हजार कित्ता सेयर माग गरेको थियो । बिक्री प्रबन्धकका अनुसार सोमबार साँझ पाँच बजेसम्म एक लाख ५५ हजार ४७४ जनाले ६६ करोड ३३ लाख ६३ हजार २०० रुपैयाँ बराबरको सेयर माग गरेका छन् । कम्पनीले चैत ७ गतेदेखि ३७ करोड ५ लाख रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको थियो । माग भन्दा बढी आवेदन परेकाले कम्पनीले सोमबार नै सेयर बिक्री गर्न बन्द गरेको क्यापिटलले जनाएको छ । कम्पनीले जारी गरेको उक्त आईपीओमा न्युनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म भर्न पाइने व्यवस्था थियो ।

कसले किन्यो मुक्तिनाथ विकास बैंकको एकैदिन २ करोडको सेयर ?

काठमाडौं । सोमबार मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख रुपैयाँ बराबरको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ ।  बैंकको एकैदिन प्रतिकित्ता २०८ रुपैयाँमा एक लाख कित्ता प्रमोटर सेयर किनबेच भएको हो । सो दिन ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४२(सानी सेक्युरिटज प्रा.लि) मार्फत  बैंकको साे मात्राकाे प्रमोटर सेयर कारोबार भएको हो । बैंकको एकैदिन भएको दुईवटा कारोबारमा कुल एक लाख कित्ता सेयर काराेबार भएकाे छ । साेमध्ये पहिलो कारोबारमा ५० हजार कित्ता सेयरको बिक्री ५८ नम्बर ब्रोकरबाट भएको छ भने ४२ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४२ बाट ५० हजार कित्ता सेयर किनेको छ ।