फ्लोरसिट र कारोबारको प्रत्यक्ष डाटामा समस्या देखिएपछि नेप्सेले भन्यो ‘सरी’

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को फ्लोरसिट र वेभसाइटमा कारोबारको प्रत्यक्ष(लाइभ) डाटामा समस्या देखिएको छ । आइतबार कारोबार शुरु भएको केहि समयमै वेभसाइटमा उक्त समस्या देखिएको हो । उक्त समस्या समाधान गर्न काम भइरहेको र समस्याहरु तुरुन्तै तय भएमा डाटा वेवसाइटमा अद्यावधिक हुने नेप्सेले जनाएको छ । साथै, प्रत्यक्ष डाटामा समस्या भएसँगै लगानीकर्तामा परेको असुविधाप्रति नेप्सले ‘सरी’ भनेको छ ।

नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताले लगाए ताला, ३ जना थुनिए

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहले आइतबार ताला लगाएका छन् । बिहान ९ बजेदेखि नै कार्यालयमा तालाबन्दी गरिएको छ । शेयर बजारको विकासमा बोर्ड बाधक बनेको लगानीकर्ता बताएका छन् । गत मंसिरमा पूँजी बजारसम्बन्धी माग राखेर लगानीकर्ताहरु अनसन बसेका थिए । त्यतिबेला सरकारले लगानीकर्ताका माग सम्बोधन गर्न कार्यदल गठन गरेको र कार्यदलले लगानीकर्ताका माग पूरा गर्न भन्दै ५८ बुँदे सुझाब दिएको थियो, तर सो ५८ बुँदा कार्यान्वयन नगरेको भन्दै लगानीकर्ता आन्दोलित भएका हुन् । आइतबार बिहानबाटै गरिएको तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका छन् भने बाँकी कर्मचारी कार्यालय प्रवेश गर्न पाएका छैनन् । शिक्षा तथा तालिम शाखामा कार्यरत राजुबहादुर जीसीसहित २ जना सफाई कर्मचारीहरु थुनिएको बुझिएको छ ।

स्पर्श लघुवित्तको आईपीओ बाँडफाँड: २५ हजार २०० जना सबैले पाए १० कित्ता सेयर

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म बिक्री गरेको साधारण सेयर(आईपीओ) आइतबार(आज) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त आईपीओमा आवेदन दिने मध्ये २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । क्यापिटलका अनुसार उक्त आईपीओमा २ लाख ९८ हजार ९३८ जनाले आवेदन दिएका थिए । जस मध्ये २ लाख ७३ हजार ७३८ जनाको हात खाली भएको छ भने बाँकी ५८५ जनाको आवेदन रद्द भएको छ । संस्थाले २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेकोमा कुल ८३ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन परेको थियो । जुन माग भन्दा ३३ गुणा बढी थियो । माग भन्दा बढी आवेदन परेकाले थोरैले मात्र १० कित्ताका दरले सेयर पाएका क्यापिटलले जनाएको छ । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेकोमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ ।