रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने  निर्णय गरेको हो । जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको कुल १२ प्रतिशतले हुन आउने ६२ करोड ३५ लाख ३९ हजार ३८५.६० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।  उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँ ४६ पैसाको कुल १३ प्रतिशत अर्थात् ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ ६७ पैसा बराबरको नगद लाभांश (करसहित) वितरण गर्नेछ । घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको ५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ । पुस ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ हजार रुपैयाँको कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअन्तर्गत ४.७५ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९७ हजार ७५२ रुपैयाँ १४ पैसा बराबरको बोनस सेयर तथा कर प्रयोजनार्थ ०.२५ प्रतिशत अर्थात् १५ लाख ४७ हजार २५० रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश समावेश छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।