संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमाथि इप्पानले गर्‍यो विरोध

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विरोध जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै इप्पानले विरोध गरेकाे जनाएको हो । सिडिएससीले धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्काशन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरुको संस्थापक समूहको सेयर अभौतिकरण प्रक्रिया लम्ब्याउँदै अन्तत सबै कम्पनीहरुको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको शेयरको छुट्टाछुट्टै इन्टरनेशनल सेक्युरीटीज आईडेन्टीफिकेसन नम्बर (आईएसआईएन) नम्बर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव पठाएको थियो । त्यस सन्दर्भमा इप्पानले भनेको छ, ‘सो प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता र अस्पष्टता पैदा मात्र भएको छैन, यसले उनीहरुमा निराशा पैदा हुने अवस्था सिर्जना भएको छ । यो प्रस्ताव कार्यान्वयन भएमा हालसम्म नेपालको पुँजी बजारमा लागू भईरहेको, प्रचलित कानून, अन्तर्राष्ट्रिय मान्यता र अभ्यास विपरित छ ।’ इप्पानले उक्त प्रस्तावले नेपालको पुँजी बजारमा दीर्घंकालीन प्रभावसँगै देशप्रति अर्न्तराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने निश्चित भने नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्ने गरी अघि बढाएको प्रस्तावले स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत कठिनाई हुने जनाएको छ । ‘यसले नेपालमा निजी क्षेत्रले विभिन्न उद्योग व्यवसायमा गरेको लगानीमा विश्वास गुम्नुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नेपालको लगानी वातावरणप्रति गम्भीर आशंका उत्पन्न भएको छ । सिडिएससीको यो प्रस्तावले नेपालको एउटा कानुनलाई हेरेर लगानी गरेको विदेशी लगानीकर्ताले आफ्नो शेयर बेचेर लगानी फिर्ता लिन नै नसक्ने वातावरण निर्माण गर्नेछ,’ इप्पानले उल्लेख गरेकाे छ, ‘यसले सरकारको वैदेशिक लगानी प्रवर्द्धन नीति, पूँजीबजारको सुदृढीकरण र समग्र आर्थिक सुधार लक्ष्यप्रति निकै ठूलो नकारात्मक प्रभाव पार्ने प्रष्ट छ ।’  

सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ को लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले दुइवटा म्युचुअल फण्डकाे लाभांश घोषणा गरेको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ​​​सनराइज ब्लुचिप फण्ड र लक्ष्मी भ्यालु फण्ड-२ का इकाईधनीहरुलाई ​​​​नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लक्ष्मी सनराइज बैंकद्वारा प्रबर्द्धन गरिएको लक्ष्मी सनराइज क्यापिटलको योजना व्यवस्थापन रहेकाे सनराइज ब्लुचिप फण्डले कर सहित १९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे हो ।  यस्तै, लक्ष्मी भ्यालु फण्ड-२ ले कर सहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएकाे हो । साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

३०.७६ अंकले बढ्यो नेप्से, ४ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.७६ अंकले बढेर ३ हजार २.०७ बिन्दुमा पुगेको छ ।  आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । हिमालयन डिस्टिलरीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, ग्रीन भेन्चरको ६३ करोड, नेपाल रिइन्स्योरेन्सको ५६ करोड, हिमालयन रिइन्स्योरेन्सको ५२ करोड र राधी विद्युत कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक, वित्त र व्यापार समूहको उपसूचक घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ । आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।