प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् ।  बैंकका अनुसार सुजित श्रेष्ठले २६ हजार ३५१ कित्ता, बाबुराम महर्जनले २ हजार १९ कित्ता, सुरेश प्रसाद चौधरीले २ लाख ३८ हजार ४२० कित्ता, हरि प्रसाद शर्माले ६ हजार ४६१ कित्ता, जीवन काजी माकजु श्रेष्ठले ३७ हजार ९१९ कित्ता, दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता, हरिहर प्रसाद भण्डारीले ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् ।  यस्तै, अञ्जना भण्डारीले ६ हजार ६४० कित्ता, राजकुमार थापाले १७ हजार २३४ कित्ता, बिनोद थकालीले २ लाख कित्ता, प्रविण कुमार श्रेष्ठले १४ हजार २१८ कित्ता, अनन्त अग्रवालले १ लाख ७ हजार २२० कित्ता र दिपक प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।  बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

भुजुङ्ग हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, ५० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । भुजुङ्ग हाइड्रोपावरले आज माघ १२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० लाख कित्ता सेयर आईपीओ जारी गर्नेछ । जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् १ लाख कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कर्मचारीलाई २० हजार कित्ता र सामूहिक लगानी कोषलाई ५० हजार कित्ता सेयर सुरक्षित राखी बाँकी रहेको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले कम्पनीको आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत मार्फत आवेदन दिन सक्नेछन् ।

९ कम्पनीमा सकारात्मक सर्किट, १३ अर्ब ७८ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।