नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको बैंकको ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ मा अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रमा सुरक्षित रहेको संकेत गर्दछ ।
स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । असार २७ गतेदेखि बिक्री खुला गरेको लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आजसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले जारी पुँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँको २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गरेको हो । जसमध्ये १ हजार १५५ कित्ता .कर्मचारी, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोष र २३ हजार १०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्ता र अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सि-आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।
नेबिको लिमिटेडले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच सेयर निष्काशन सम्बन्धी बिहीबार सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा भएको हो । नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १५ हजार मेट्रिक टन रहेको छ । यसको व्यापार विभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन् ।