रिज लाइन इनर्जीले घोषणा गर्‍यो नगद लाभांश

काठमाडौं । रिज लाइन इनर्जीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ करोड ७८ लाख ३५ हजार ७८९ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ४ गते दिउँसो ३ बजे होटल हिमालय कुपण्डोल ललितपुरमा चौथो वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्नेछ ।  साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिमा रिक्त १ जना सञ्चालक चयन गर्नेछ ।  कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने र आईपीओबाट प्राप्त रकमको प्रयोग गर्ने प्रस्ताव पारित गर्नेछ । 

सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ व्यवस्थित लगानी योजना (एसएसआइएस)का इकाईधीनहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  साथै, लाभांश वितरण प्रयोजनार्थ साउन ११ गते नै बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात् साउन ११ गतेसम्म कायम इकाइधनीहरुले मात्रै सो लाभांश प्राप्त गर्नेछन् । क्यापिटलका अनुसार इकाइधनीहरुले लाभांश रकमलाई पुनः लगानी योजनामार्फत थप इकाई खरिद गर्न सक्ने छन् । साथै, उक्त योजनामा सहभागी नहुने इकाईधनीहरुको हकमा प्रतिफल रकम सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ । 

नेप्से परिसूचक १८ अंकले घट्दा साढे २६ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिँदा कारोबार रकम साढे रु २६ अर्ब नाँघेको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर दुई हजार ९६४.२० को बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा रु २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ बराबरको कारोबार भएको छ । आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो । विकास बैंक समूह १.२३, उत्पादन तथा प्रशोधन १.०८, म्युचुअल फण्ड ०.३९ र व्यापार समूह १.४४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।  बैंकिङ ०.७१, वित्त १.९९, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.०९, लगानी १.६६, जीवन बिमा  १.३५, निर्जीवन बिमा ०.६७ र अन्य समूह ०.८६ प्रतिशतले घटेको छ ।     आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको रु एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको सेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ ।