आईपीओको अनुमति पाएपछि पाल्पा सिमेण्टको साधारण सभा स्थगित
काठमाडौं । पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । पुस १४ गते बेलाएको साधारण सभा स्थगित भएको कम्पनीले जानकारी दिएको छ । पाल्पा सिमेण्टको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा गर्न पुस १४ गते सोमबार बोलाइएको थियो । कम्पनीले आईपीओ निष्काशन गर्न पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि साधारण सभा स्थगित गरिएको जनाएको छ । बोर्डले पाल्पा सिमेण्ट इन्डष्ट्रिजलाई ७५ करोड रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री गर्न अनुमति दिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ मा सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरु समेत समावेश नभई साधारणसभा गर्नु नहुने भन्ने कानूनी व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्म सभा स्थगित गरिएको हो । कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयर पारित, चुक्ता पुँजी २६ अर्ब पुग्यो
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही अवधिको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ३७१ अर्ब रुपैयाँ निक्षेप संकलन र २८७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । सो अवधिमा बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ पुगेको छ । उक्त आर्थिक वर्षमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
एसवाई प्यानलको सेयर मूल्यमा सकारात्मक सर्किट, ४ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० अंकले घटेर २६२२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छ । सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै मन्जुश्री फाइनान्सको १७ करोड, शिवम् सिमेन्टको १३ करोड, न्यादी गुप्रको १२ करोड र हिमालयन रिइन्स्योरेन्सको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । सोमबारको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ ।