तेह्रथुम पावरको ४ लाख १८ हजार कित्ता सेयर बिक्री खुला, मूल्य १ सय रुपैयाँ
काठमाडौं । तेह्रथुम पावर कम्पनीले अवितरित हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले असार १६ गतेदेखि साउन ११ गतेसम्म हकप्रद सेयर बिक्री गर्दा सर्वसाधारण लगानीकर्ताले खरिद नगरेको अवितरित सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ४ लाख १८ हजार ७३८ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । कम्पनीको सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि भदौ ३ गतेभित्र आवेदन दिन सकिनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकका साथै नबिल बैंकको विराटनगर, विर्तामोड, विरगञ्ज, हेटौंडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।
एशियन लाइफको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ । असार २५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँट पश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ १६ गते बुकक्लोज गरेको थियो । त्यसैले जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा, एशियन लाइफका कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ ।
धितोपत्र बजारको प्रस्तावित निर्देशिका खारेज गर्न एनआरएनएको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेडद्वारा नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरिएको प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । प्रस्तावमा सेयर सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक समूहको सेयर अभौतिकीकरण गर्दा संस्थापक र सर्वसाधारण सेयरलाई फरक-फरक इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर ( आईएसआईएन) दिने व्यवस्था प्रस्ताव गरिएको छ । संघले जारी गरेको विज्ञप्तिमा यस्तो प्रस्तावले नेपालको पूँजी बजारमा दीर्घकालीन असर पार्ने सम्भावना रहेको उल्लेख छ । यसले विदेशमा रहेका नेपाली संस्थापक लगानीकर्तामा भ्रम र निराशा फैलाउने, सेयर कारोबारमा अन्योल सिर्जना गर्ने र पूँजी बजारको पारदर्शिता तथा स्थायित्वमा प्रतिकूल प्रभाव पार्न सक्छ । गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पूँजीलाई नेपालमा भित्र्याउने प्रयास गर्दै आएको छ । हाल ऊर्जा, पूर्वाधार, पर्यटन, स्टार्टअप र वित्तीय क्षेत्रमा गैरआवासीय नेपालीहरूले उल्लेखनीय लगानी गरिरहेका छन् । संघका अनुसार यस्ता लगानीहरू नेपालमा आर्थिक सुधार र पूर्वाधार विकासका लागि महत्त्वपूर्ण स्रोत हुन् । तर, प्रस्तावित निर्देशनले लगानीमैत्री वातावरणलाई कमजोर बनाउने खतरा रहेको विज्ञप्तिमा जारी छ । संघका अनुसार विशेषगरी गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा स्थायित्व, पारदर्शिता, र कानुनी स्पष्टता अपेक्षा गर्ने हुँदा यस्तो प्रस्तावले उनीहरूलाई हतोत्साहित गर्न सक्छ । प्रस्ताव कार्यान्वयन भएमा संस्थापक सेयरधनीहरूलाई सेयर बेच्न गाह्रो हुने, वैदेशिक लगानी फिर्ता गर्न समस्या आउने, र कानुनी अन्योलको स्थिति सिर्जना भई अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश जान सक्ने संघले चेतावनी दिएको छ । यसै सन्दर्भमा, संघले नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उक्त प्रस्ताव पुनर्विचार गर्न, समग्र असरको मूल्याङ्कन गरी गम्भीर छलफलबाट सन्तुलित निर्णय लिन आग्रह गरेको छ । साथै, निजी क्षेत्र, प्रवासी नेपाली र विदेशी लगानीकर्ताको विश्वास कायम राख्नका लागि स्पष्ट, स्थिर र लगानीमैत्री नीतिहरू अवलम्बन गर्न संघले जोड दिएको छ ।