शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय लम्बियो
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय लम्बिएको छ । माघ ६ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिने समय फागुन ८ गतेसम्म लम्बिएको हो । कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ९ करोड ८० लाख रुपैयाँको ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमा बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका वडावासी र विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बुर्तिवाङ र बागलुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड शाखा, गरिमा विकास बैंकको बुर्तिवाङ शाखा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
३ कम्पनीले माछापुच्छ्रे बैंक छोड्दै, बिक्रीमा राखे ३१ लाख कित्ता सेयर
काठमाडौं । माछापुच्छ्रे बैंकका तीन ठूला संस्थापक सेयरधनी बैंकबाट बाहिरिने भएका छन् । आफ्नो नाममा रहेको ३१ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै उनीहरू बैंकको सेयर स्वामित्वबाट बाहिरिन लागेका हुन् । बैंकका अनुसार के.एम.सी. अटोमोबाइल्स प्रालिले १३ लाख ५८ हजार १०३ कित्ता, एसोसिएटेड अटोमोबाइल्स प्रालिले ९ लाख ९७ हजार ८३१ कित्ता र हिमालयन इन्टरप्राइजेज प्रालिले ७ लाख ४१ हजार ४४६ कित्ता गरी कुल ३० लाख ९७ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । बैंकका अनुसार उक्त संस्थापक सेयरमा हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सो सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । के.एम.सी. अटोमोबाइल्स, एसोसिएटेड अटोमोबाइल्स र हिमालयन इन्टरप्राइजेजको अध्यक्ष अरुण कुमार चौधरी हुन भने सञ्चालक शिला चौधरी । के.एम.सी.र एसोसिएटेड अटोमोबाइल्स गाडीका पाटपूर्जा आयात गर्ने उद्देश्यले संचालनमा आएका हुन् भने हिमालयन इन्टरप्राइजेज सबै प्रकारका मालसामान, खरिद–बिक्री आयात, निर्यात गर्ने उद्देश्यले सञ्चालनमा आएको हो ।
सेयर बजारमा ९ अर्ब १० करोड रुपैयाँको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले घटेर २६९४ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ५० कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको मूल्य घटेको हो । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२९ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १० करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै एसवाई प्यानलको ५३ करोड, राधी विद्युतको ३८ करोड, युनियन हाइड्रोपावरको ३६ करोड र शिव श्री हाइड्रोपावरको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।