निफ्राबाट बाहिरिँदै आईएमई, १६ करोड २० लाखको सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट आईएमई लिमिटेड बाहिरिने भएको छ । आईएमई लिमिटेडले आफ्नो नाममा रहेको सम्पूर्ण संस्थापक सेयर बिक्रीमा राख्दै बैंकबाट बाहिरिने निर्णय गरेको हो । निफ्रामा आईएमई लिमिटेडको ०.५० प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । कम्पनीले उक्त सबै सेयर बिक्रीका लागि प्रस्ताव गरेको हो । बैंकले ती सेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा आईएमई लिमिटेडले कुल १६ करोड २० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको छ । उक्त सेयर सर्वसाधारणसहित इच्छुक जो-कोही व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सेयर खरिदका लागि आवेदन दिने व्यक्ति वा संस्थाले सम्पूर्ण सेयरका लागि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
एपोलो हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न सेबोनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य १ सय रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति दिएको छ । त्यसमा ९ वटा जलविद्युत् कम्पनी, १ वटा उत्पादन कम्पनी, १ वटा होटल तथा पर्यटन र १ वटा विकास बैंक रहेका छन् । बोर्डले चालु आवको हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।
नेप्सेमा २५ प्रतिशतसम्म रणनीतिक साझेदार, ३ अर्ब पुँजी पुर्याउन बोनस विकल्प (पूर्णपाठसहित)
काठमाडौं । रणनीतिक साझेदार भित्र्याएर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को पुनर्संरचना गर्न सकिने सुझाव दिइएको छ । प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेस गरेको प्रतिवेदन अनुसार नेप्सेको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न २५ प्रतिशतसम्म सेयर स्वामित्व (कम्तीमा १० वर्ष लक-इन अवधि सहित) रणनीतिक साझेदारलाई दिन प्रस्ताव गरेको हो । प्रतिवेदन अनुसार रणनीतिक साझेदार विश्वका शीर्ष २० स्टक एक्सचेञ्जमध्ये एक हुनुपर्ने, कम्तीमा २० वर्षको अनुभव तथा आधुनिक सूचना प्रविधि र नविनतम लगानी उपकरण प्रयोगको अनुभव भएको हुनुपर्नेछ । रणनीतिक साझेदारबाट नेप्सेको सञ्चालक समितिमा एक जना विज्ञ सञ्चालक अनिवार्य रूपमा रहने व्यवस्था पनि प्रस्ताव गरिएको छ । प्रतिवेदनले सरकारी स्वामित्व भएका संस्थामा देखिने संरचनागत कमजोरीहरू औंल्याउँदै नेप्सेमा रहेको सरकारी लगानीलाई कालान्तरमा आंशिक रूपमा विनिवेश गर्नुपर्ने सुझाव दिएको छ । तर सरकारको पूर्ण बहिर्गमनले साना लगानीकर्ताको विश्वास कमजोर हुन सक्ने भन्दै आंशिक स्वामित्व कायम राख्ने विकल्प सुरक्षित मानिएको छ । सरकारी सेयर रणनीतिक साझेदार, वित्तीय संस्था तथा सर्वसाधारणलाई बिक्री गर्न सकिने प्रस्ताव छ । वित्तीय संस्थाको हकमा भने कुनै एक संस्था वा सम्बन्धित समूहले नेप्सेको कुल सेयर पुँजीको ५ प्रतिशतभन्दा बढी स्वामित्व लिन नपाउने व्यवस्था गर्न सुझाव दिइएको छ । प्रतिवेदनअनुसार धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ ले व्यवस्था गरेअनुसार दोस्रो बजार सञ्चालकको न्यूनतम चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । हालको अवस्थामा नेप्सेको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन बोनस सेयर जारी गर्नु उपयुक्त हुने सुझाव दिइएको छ । भविष्यमा थप लगानी आवश्यक परेमा हकप्रद सेयर वा नयाँ सेयर जारी गर्न सकिने विकल्प खुला राखिएको छ । तर पुँजी वृद्धि अघि रणनीतिक साझेदारसम्बन्धी स्पष्ट नीति तय गर्नुपर्ने उल्लेख गरिएको छ । थापा नेतृत्वको समितिले नेप्सेको हालको स्वामित्व र सञ्चालन संरचनाबाट दीर्घकालीन अवसर र चुनौतीहरू सामना गर्न कठिन हुने ठहर गरेको छ । व्यवस्थापन, प्रविधि र सेवामा व्यापक सुधारका लागि सञ्चालक समिति र स्वामित्व संरचनामै परिवर्तन आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।