नबिल इन्भेष्टेमन्टले साउन ३० गतेदेखि एनआई ३१ बिक्री गर्ने
काठमाडौं । नबिल इन्भेष्टेमन्ट बैंकिङ्गले साउन ३० गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले खुलामुखी योजना एनआई ३१ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका २ करोड ५० लाख इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित राखि बाँकी रहेको १ करोड १२ लाख ५० हजार इकाई सर्वसाधरण लगानीकर्तालाई बिक्री गर्नेछ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा सबै इकाई बिक्री नभए भदौ १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टेमन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् ।
एलएस क्यापिटलले घोषणा गर्यो ३ वटा म्युचुअल फण्डको लाभांश, कुनको कति ?
काठमाडौं । लक्ष्मी सनराइज (एलएस) क्यापिटलले ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको मंगलबार बसेको बैठकले लक्ष्मी उन्नती कोष, सनराइज फस्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड ईक्विटीको लाभांश घोषणा गरेको हो । क्यापिटलले लक्ष्मी उन्नती कोषको कर सहित २० प्रतिशत, सनराइज फस्ट म्युचुअल फण्डको कर सहित १४ प्रतिशत र सनराइज फोकस्ड ईक्विटी फण्डको कर सहित १३.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ काे असारमा लक्ष्मी उन्नती कोषको खुद सम्पत्ति मूल्य १२.४६, सनराइज फस्ट म्युचुअल फण्डको कोषको खुद सम्पत्ति मूल्य ११.९३ र सनराइज फोकस्ड ईक्विटी फण्डको कोषको खुद सम्पत्ति मूल्य १२.१३ रहेको क्यापिटलले जनाएको छ । साथै खुल्लामुखी योजना शुभ लक्ष्मी कोषको १६ प्रतिशत, बन्दमुखी योजनाहरू लक्ष्मी भ्यालु फण्ड-२ को १५ प्रतिशत र सनराइज ब्लुचिप फण्डको १९ प्रतिशत प्रतिफल वितरण सम्बन्धी निर्णय गरेको क्यापिटलले जनाएको छ ।
होटल भादगाउँले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । होटल भादगाउँ एण्ड रिर्सोटले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । होटलले व्यवसाय विस्तार तथा स्तरोन्नतिको लक्ष्यसहित सर्वसाधारणलाई लक्षित गरी १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । यसबाट १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ । यस सन्दर्भमा आयोजित एक औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सन् २०२१ मा स्थापना भएको होटल भादगाउँ भक्तपुरको युनेस्को सूचीमा सूचीकृत पुरातात्विक क्षेत्रको मुटुमा अवस्थित छ । नेवारी वास्तुकला र सांस्कृतिक धरोहरलाई झल्काउने शैलीमा निर्माण भएको यो होटलले हाल ४० वटा सुविधा सम्पन्न कोठाबाट आतिथ्य सेवा दिँदै आएको छ। आईपीओमार्फत संकलित पूँजीबाट होटलले १०० वटा नयाँ कोठा, स्पा, फिटनेस सेन्टर, भूमिगत पार्किङ्ग, बाह्य बगैँचा, सेमिनार हल, कन्फरेन्स सुविधा र डेस्टिनेशन वेडिङ्ग स्थल निर्माण गर्ने योजना अघि सारेको छ । होटलका प्रबन्ध निर्देशक राजभण्डारीका अनुसार प्रस्तावित विस्तारले स्थानीय रोजगारी सिर्जनासँगै भक्तपुरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।