सालमनीदेवी हाइड्रोले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता तथा सर्वसाधारणका लागि सोही अंकित दरका थप ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशनसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवी हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन् । सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा अवस्थित ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
नेप्सेमा एकै दिन ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकै दिन विभिन्न ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स, कालिन्चोक दर्शन र माउन्टेन इनर्जी नेपालको बोनस सेयर सूचीकृत भएका हुन् । सिद्धार्थ बैंकको ५ प्रतिशत बोनस बापत ७० लाख ४४ हजार ९९० कित्ता, नेपाल एसबिआई बैंकको ४ प्रतिशत बोनस वापत ४३ लाख ५९ हजार ६६३ कित्ता, साना किसान विकास लघुवित्तको १४.२५ प्रतिशत बोनस वापत ६१ लाख ४५ हजार ४८५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । यस्तै, नेशनल लाइफको ४ प्रतिशत बोनस बापत २१ लाख ८९ हजार ९५ कित्ता, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस बापत ३ लाख कित्ता र माउन्टेन इनर्जीको २० प्रतिशत बोनस बापत ५२ लाख ५ हजार ४३१ कित्ता सेयर सूचीकृत भएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर ६ जना संस्थापक सेयरधनी बाहिरिन लागेका हुन् । बैंकका अनुसार विभिन्न ६ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर आंशकि वा पुरै बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि आवेदन दिनुपर्ने जनाएको छ । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर र मूल्य समेत तोकि निवेदन दिनुपर्नेछ । यदि उक्त समय भित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।