नेचुरल स्प्रिट्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल
काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेचुरल स्प्रिट्स नेपाल लिमिटेड विसं २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । कम्पनीको उत्पादन कक्ष धादिङ जिल्लाको गल्छी गाउँपालिकामा अवस्थित छ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको हाँडीगाउँमा रहेको छ । यस कम्पनीले सन् २०२१ (वि.सं. २०७७) मा पहिलोपटक उत्पादन सुरु गरेको थियो। २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा दुईवटा अर्ध–स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्याङ्क तथा पाँचवटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्यूट्रल अल्कोहल ट्याङ्कहरू रहेका छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले सरंगी ह्विस्की ४० अप र सेतो बाघ भोड्का ३० अप नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरका सीईओ हेमन्त बस्यालले दिए राजीनामा
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी (सीईओ) हेमन्त बस्यालले राजीनामा दिएका छन् । भदौ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बस्यालको राजीनामा स्वीकृत गरेको छ । साथै कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा कम्पनी सचिव प्रताप अधिकारीलाई नियुक्त गरेको छ ।
अप्पर स्याङ्गे हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असोज ९ गते काठमाडौंमा बिहान १० बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले हकप्रदबाट संकलित रकमको उपयोग गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनी गाभ्ने, संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले भदौ २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।