बन्दीपुर केवलकारको आईपीओ बिक्री खुला, २० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । बन्दीपुर केवलकार एवं टुरिजमले आज भदौ ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५८ लाख ६० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात् ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र १० प्रतिशत अर्थात् ५ लाख २९ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ ।  अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुलाई ४३ करोड ४१ लाख ८ हजार रुपैयाँको ४३ लाख ४१ हजार ८० कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय भदौ २५ गतेसम्म लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

हवाइ क्षेत्रमै पहिलो आईपीओ निकाल्दै श्री एयरलाइन्स, यस्ताे छ बिजनेस

काठमाडौं । नेपाली हवाइ क्षेत्रमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको श्री एयरलाइन्सले आईपीओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।  साढे दुई दशकदेखि नेपाली हवाइ क्षेत्रमा सञ्चालनमा रहेको श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । यस कम्पनीका मुख्य लगानीकर्ता सुधीर मित्तल हुन् । यसका संस्थापक अध्यक्ष भने बनवारीलाल मित्तल (स्वर्गीय) हुन् । मित्तलको यस कम्पनीमा ९९.८९ प्रतिशत सेयर लगानी छ । कार्यकारी अध्यक्ष मित्तलसँग उड्डयन क्षेत्रमा डेढ दशक भन्दा बढी अनुभव छ । आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे बोलाएको छ ।  सभामा कम्पनी भित्रका यावत गतिविधि एवं आईपीओ निष्काशन गर्ने शिलशिलामा हालसम्म भए गरेका कार्य प्रगतिको समीक्षा एवम् भावी कदमको सम्बन्धमा छलफल गर्नेछ । यस्तै, आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्ध पत्र र नियमावलीमा शंसोधन गर्न अख्तियारी दिनेछ ।  यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।  कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड-विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई-८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ । गत आव २०८१/८२ (सन् २०२५) को ६ महिनामा २ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब २६ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

६ सूचकमा बैंकः कुनको सेयर किन्दा राम्रो ?

काठमाडौं । कुनै समय बैंकिङ क्षेत्र पुँजी बजारका लागि हटकेक थियो । बैंकको सेयर खरिदका लागि लगानीकर्ताहरूबीच ठूलो तछाडमछाड हुन्थ्यो । किनभने तत्कालीन समयमा बैंकको सेयर मूल्य उच्च थियो, कारण हो बैंकले दिने लाभांश पनि उच्च थियो । समयक्रमअनुसार नियामकले बैंकको पुँजीको आकारमा वृद्धि गरायो, हाल बैंकहरूको पुँजी ३८ अर्ब रुपैयाँ भन्दा बढी पुर्याएका छन् । बैंकको आकारसँगै सेयर मूल्य पनि विस्तारै घट्न थाल्यो । हाल बैंकहरूको सेयर मूल्य प्रतिकित्ता २ सय रुपैयाँदेखि साढे ७ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । जबकि विगतमा बैंकको सेयर मूल्य ९ हजार रुपैयाँसम्म पनि पुगेको थियो ।  लगानीकर्ताहरुले लगानी गर्दा सम्बन्धित कम्पनीहरूको वित्तीय विवरणको विश्लेषणदेखि अन्य विभिन्न अवस्थालाई अध्ययन गरी लगानी गर्ने गर्छन् । बैंकिङ क्षेत्र पुँजी बजारको एक प्रमुख आधार हो, तर यसको सेयर किन्नु अघि सम्बन्धित बैंकका सूचकहरू कस्ता छन् भनेर हेर्न जरुरी हुन्छ । बैंकमा लगानी गर्ने योजना बनाइरहेका लगानीकर्ताहरूका लागि भने विभिन्न मुख्य सूचकहरूलाई यहाँ उल्लेख गरिएको छ ।  गत वर्ष वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा साढे २१ अर्ब रुपैयाँ रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरूको वितरणयोग्य नाफा २१ अर्ब ६७ करोड ९८ लाख २१ हजार रुपैयाँ पुगेको हो ।  गत वर्ष १६ बैंकको वितरणयोग्य नाफा धनात्मक भएपनि ४ बैंकको भने ऋणात्मक छ । गत वर्ष सबैभन्दा धेरै वितरणयोग्य नाफा ग्लोबल आइएमई बैंकको रहेको छ । ग्लोबल आइएमईको ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ ।  समीक्षा वर्षमा एभरेष्ट बैंकको ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ, नबिल बैंकको ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३ अर्ब ५३ लाख ७२ हजार रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार गत वर्ष सबैभन्दा धेरै लाभांश क्षमता एभरेष्ट बैंकको देखिन्छ । एभरेष्ट बैंकको लाभांश क्षमता ३८.३७ प्रतिशत रहेको छ । यस्तै, सानिमा बैंकको २०.४७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, कृषि विकास बैंकको १८.४२ प्रतिशत, एनएमबि बैंकको १८.४ प्रतिशत, नबिल बैंकको १७.६४ प्रतिशत, प्राइम बैंकको १४.३३ प्रतिशत लाभांश क्षमता रहेको छ । ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत, सिद्धार्थ बैंकको १३.२२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १२.३४ प्रतिशत, नेपाल एसबिआई बैंकको ११.२९ प्रतिशत लाभांश क्षमता रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ९.२३ प्रतिशत, सिटिजन्स बैंकको ५.२५ प्रतिशत, प्रभु बैंकको ४.४४ राष्ट्रिय वाणिज्य बैंकको १.९४ प्रतिशत, एनआईएमबिको १.४४ प्रतिशत लाभांश क्षमता छ । गत वर्ष सबैभन्दा धेरै एभरेष्ट बैंकको रिटर्न अन इक्विटी (आरओई) धेरै रहेको छ । एभरेष्टको आरओई १६.४४ प्रतिशत रहेको छ । जुन वाणिज्य बैंहरुमा सबैभनदा धेरै हो ।  यस्तै, प्रभु बैंकको १४.९५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १४.१८ प्रतिशत, प्राइम बैंकको १२.५१ प्रतिशत, कृषि विकास बैंकको ११.८८ प्रतिशत, सानिमा बैंकको ११.७३ प्रतिशत, नबिल बैंकको ११.६४ प्रतिशत, सिद्धार्थ बैंकको ११.५ प्रतिशत, माछापुच्छ्रेबैंकको ११.१३ प्रतिशत, एनएमबि बैंकको १०.६६ प्रतिशत आरओई रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) को १०.६ प्रतिशत, नेपाल बैंकको १०.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.६१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९.५८ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.०१ प्रतिशत, सिटिजन्स बैंकको ५.८१ प्रतिशत, कुमारी बैंकको ५.६८ प्रतिशत, हिमालयन बैंकको ४.०६ प्रतिशत, एनआईसी एशिया बैंकको १.८९ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ । प्रतिसेयर आम्दानीमा एभरेष्ट बैंक नै अग्रस्थानमा छ । एभरेष्टको ३७.९९ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३०.१७ रुपैयाँ, कृषि विकास बैंकको २७.६३ रुपैयाँ, नबिल बैंकको २६.३४ रुपैयाँ, नेपाल बैंकको २५.६८ रुपैयाँ, सिद्धार्थ बैंकको २४.१ रुपैयाँ, प्रभु बैंकको २३.१२ रुपैयाँ, प्राइम बैंकको २०.७४ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।  यस्तै, एनआईएमबिको १९.८ रुपैयाँ, सानिमा बैंकको १८.९३ रुपैयाँ, एनएमबि बैंकको १७.८७ रुपैयाँ, माछापुच्छ्रे बैंकको १७.३१ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.९१ रुपैयाँ, नेपाल एसबिआई बैंकको १६.५४ रुपैयाँ, ग्लोबल आइएमई बैंकको १४.११ रुपैयाँ, सिटिजन्स बैंको ८.७६ रुपैयाँ, कुमारी बैंकको ८.०७ रुपैयाँ, हिमालयन बैंकको ६.९८रुपैयाँ र एनआईसी एशिया बैंकको १.०८ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । प्रतिसेयर नेटवर्थमा भने नेपाल बैंक अ्रगस्थानमा छ । समीक्षा वर्षमा बैंकको प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ । यस्तै, नेपाल बैंकको २५९.८१ रुपैयाँ, एभरेष्ट बैंकको २४७.३९ रुपैयाँ, कृषि विकास बैंकको २४१.०४ रुपैयाँ, नबिल बैंकको २३५.५८ रुपैयाँ, एनआईएमबिको २३१.०२ रुपैयाँ, सिद्धार्थ बैंकको २१९.९७ रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २१७ रुपैयाँ, एनआईसी एशिया बैंकको १९७.३ रुपैयाँ, नेपाल एसबिआई बैंकको १८८.५९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ ।  यस्तै, लक्ष्मी सनराइजको १८६.६३ रुपैयाँ, ग्लोबल आइएमई बैंकको १७७.६३ रुपैयाँ, एनएमबि बैंकको १७६.८१ रुपैयाँ, हिमालयन बैंकको १७५.०७ रुपैयाँ, प्राइम बैंकको १७३.७२ रुपैयाँ, सानिमा बैंकको १६८.८३ रुपैयाँ, माछापुच्छ्रे बैंकको १६३.८ रुपैयाँ, प्रभु बैंकको १६२ रुपैयाँ, सिटिजन्स बैंकको १५५.४२ रुपैयाँ, र कुमारी बैंकको १४२.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको तथ्याङ्क छ ।