नबिल बैंकको ८ प्रतिशत लाभांश दरको अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ ।  प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको यही २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो। धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बंैक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो ।  उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।  चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

नेप्सेमा ७४ अंकको गिरावट, १२ अर्ब १० करोडको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा कायम भएको छ ।  बुधबार कारोबारमा आएकामध्ये १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य  घटेको छ । बुधबार ३४७ स्टकको कुल १ लाख २३ हजार ७ सय ३० पटकको सेयर किनबेचमा ३ करोड २ लाख ९२ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  मंगलबार ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल रि इन्स्यारेन्स कम्पनीको सेयर ९.८४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ७१ करोड ७१ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।  दोस्रो धेरै कारोबार भएको कम्पनी अपि पावर कम्पनीको ४५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै न्यादी ग्रुपको ४३ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसमूह घटेका छन् ।

वैशाख २ गतेदेखि मार्जिन कारोबार सुरु गर्ने ब्रोकर कम्पनीहरूको घोषणा

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)हरूले वैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा कार्यान्वयन गर्ने भएका छन् । चैत १७ गते बसेको स्टक ब्रोकर एशोसिएसन अफ नेपालको ( एसब्यान) कार्यसमिति बैठकले वि.सं २०८३ वैशाख २ गतेदेखि मार्जिन कारोबार सेवा लगानीकर्तालाई उपलब्ध गराउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको कार्यप्रक्रिया अनुसार धितोपत्र दलाल व्यवसायीहरूले पनि आफ्नै कार्यप्रक्रिया तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सोही बमोजिम ब्रोकर कम्पनीहरूले कार्यप्रक्रिया तयार गरेर एसब्यान कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । एसब्यानका अनुसार मार्जिन कारोबारसँग सम्बन्धित अधिकांश प्रक्रिया पूरा भइसकेको छ । यद्यपि, केही प्राविधिक विषय मिलाउन बाँकी रहेकाले नयाँ वर्षदेखि सेवा सुरु गर्ने तयारी गरिएको कार्यालय व्यवस्थापक मित्र बहादुर क्षेत्रीले बताए । यो सुविधा लागू भएसँगै लगानीकर्ताले धितोपत्र खरिदका लागि दलालमार्फत ऋण (मार्जिन) प्रयोग गर्न सक्नेछन्, जसले बजारमा कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।