धौलागिरी लघुवित्तको लक इन अवधी भदौ १९ गतेदेखि सकिँदै

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि समाप्त हुने भएको छ । २०८२ भदौ १९ गतेदेखि लघुवित्तका संस्थापक तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इनको समयावधि सकिने लघुवित्तले जनाएको छ । लघुवित्तले विसं २०७९ भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत) मा सेयर निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ भदौ २० गते सेयर बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डले साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ २० लाख १ हजार कित्ता र कर्मचारीको १ हजार ५ सय कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।  तर, राष्ट्र बैंकको व्यवस्था बमोजिम संस्थापक सेयर कारोबार भने सर्वसाधारणमा भने सेयर हुने छैन ।

हिमालयन ८०–२० योजनाले १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । हिमालयन क्यापिटल योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष 'हिमालयन ८०–२०' ले आर्थिक वर्ष २०८१/८२ का लागि १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ १३ गते क्यापिटलको ७४औं सञ्चालक समितिको बैठकले योजनाका इकाईधनीहरूलाई करसहित १६.१६ प्रतिशत दरको रु १६ करोड १६ लाख नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । योजनाले यसपटक प्रदान गर्ने लाभांश प्रक्षेपण भन्दा ६ प्रतिशत बढी र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ । अघिल्लो वर्ष पनि प्रक्षेपणभन्दा बढी लाभांश वितरण गरेको यस योजनाले छोटो अवधिमै लगानीकर्तामाझ उत्कृष्ट अवसरको रूपमा विश्वसनीयता स्थापित गर्न सफल भएको छ । निकट भविष्यमा खुलामुखी योजना सञ्चालन गर्ने तयारीमा रहेको हिमालयन क्यापिटलले हिमालयन ८०–२० योजनामार्फत आगामी वर्षहरूमा पनि इकाईधनीलाई आकर्षक प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल लाइफले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने, पारित गर्न असोज ८ गते डाक्यो भेला

काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १ः२ को अनुपात (हाल १ कित्ता सेयर बराबर २ कित्ता सेयर )मा हकप्रद सेयर जारी गर्ने भएको हो ।  साथै, संचालक समितिले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरेर १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । कम्पनीको पुँजी वृद्धि सम्बन्धी निर्णयलाई पारित गर्न भदौ ९ गते बसेको संचालक समितिको बैठकले असोज ८ गते बिहान साढे ९ बजे काठमाडौंमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले हकप्रद सेयर जारी पश्चात् हुने सेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्ता पुँजीलाई वृद्धि गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्नेछ ।  यस्तै, संचालक समितिको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षक पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।  नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको सहायक कम्पनी हो । बीमा बजारमा २५ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले ५ अर्ब रुपैयाँ लगानीमा यो कम्पनी सञ्चालमा ल्याएको हो ।