किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण

काठमाडौं, २० साउन । आइतबारदेखि ओरालो लाग्न थालेको पुँजी बजार बिहिबारसम्म निरन्तर ओरालै लागिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा बजार नेप्से परिसूचक ६४ दशमलब ८ अंकले घटिसकेको छ । र यो क्रम बिहिबार बजार खुल्दा पनि यथावत छ । अर्थतन्त्रका नाजुक परिसूचक तथा सत्ता परिवर्तनको सरगर्मीका बावजुद निरन्तर बजार बढेकोमा नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराइरहेको थियो । बजार किन बढ्यो र अहिले किन घटिरहेको छ ? नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गीरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि ठोस कारण थिएन र अहिले घट्नुमा पनि कुनै कारण देखिन्न ।’ उनले बजार बिनाकारण बढेपछि घट्नु पनि स्वभाविक नै भएको बताए । यस्ता छन बजार घट्नुका कारणहरु ब्रोकरको कारोबारमा निगरानी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालो धनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला माछा उम्किए नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ । संघाई पक्राउ प्रकरण लागु औषध कारोबारको आरोपमा संघाई ग्रुपका रतन संघाई पक्राउ परे । संघाई ग्रुपको सेयर बजारमा ठुलो लगानी छ । रतन संघार्ईको बैंक एकाउण्ट रोक्का गरिएको भएपनि सेयर कारोबार रोक्का गरिएको छैन् । रतन पक्राउ परेपछि संघाई समुहले धमाधम सेयर बेचिरहेको बताइन्छ ।

नेपाल आयल निगमले सेयर जारी गर्ने, चुक्ता पुँजी १० अर्ब पुर्याउने

काठमाडौं, २० साउन । नेपाल आयल निगमले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । हाल निगमको चुक्ता पुँजी करोड ६७ लाख १५ रहेका छ । निगमले त्यसलाई बढाएर ३० करोड पुर्याउने निर्णय भर्खरै सम्पन्न निगमको बार्षिक साधारण सभाले गरेको थियो । निगमले सर्वसाधारणलाई सेयर जारी गरेर आफ्नो पुँजी १० अर्ब पुर्याउने लक्ष्य राखेको छ । आइपिओ जारी गर्ने सम्बन्धमा अध्ययन गर्न निगमले समिति नै गठन गरिसकेको छ । निगमले पुराना सेयरधनीलाई ५५ प्रतिशत, रणनीतिक साँझेदारलाई १५ प्रतिशत र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । हाल निगममा आपुर्ति मन्त्रालयको ६१ दशमलब ४४, अर्थ मन्त्रालयको १९ दशमलब ६१, आपुर्ति व्यवस्थापन विभागको १७ दशमलब ३२, नेशनल ट्रेडिङको शुन्य दशमलब ७६, राष्ट्रिय बिमा कम्पनीको शुन्य दशमलब ४७, नेपाल बैंकको शुन्य दशमलब २३ र राष्ट्रिय बाणिज्य बैंकको शुन्य दशमलब १५ प्रतिशत सेयर हिस्सा रहेको छ । इण्डियन आयल कर्पाेरेशन, हिन्दुस्तान पेट्रोलियम तथा विश्व अन्य तेल कम्पनीहरु जस्तै नेपाल आयल निगमले पनि सेयर जारी गर्न लागेको हो । ३७ अर्ब नोक्सानीमा रहेको निगमले भर्खरै ऋण तिरिसकेको छ । यद्यपी अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा आएको भारी गिरावटका कारण मात्रै निगमले ऋण तिर्न सकेको हो ।

परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूहले देखाए रातो रङ

काठमाडौं, १९ साउन । बजारमा बुधबार परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलब ७५ अंकले घटेर १८१३ अंकमा पुगेको छ । सो दिन १३७ कम्पनीको २४ लाख ८३ हजार कित्ता सेयर करिब एक अर्ब २७ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको ७ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ रुपैयाँको र अन्य कम्पनीको ५ करोड भन्दा थौरै रुपैयाँको सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको दिन बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । बीमा, हाइड्रोपावर, बैकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ३३, १७, १३ र ११ अंकले घटेको छ । होटल र फाइनान्स समूहको बराबर अंक १० ले घटेको छ । त्यस्तै अन्य समूहको सामान्य अंक ३ ले घटेको छ ।