सानिमा माई हाइड्रोले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, ८ भदौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि भदौ ३१ गते बार्षिक साधारण सभा डाकेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड ५० लाख रुपैंयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको पुँजी दुई अर्ब ११ करोड रुपैंयाँ पुग्नेछ । सोही साधारण सभाले कम्पनीको आगामी कार्यकालका लागि पाँच सदस्यिय नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालसम्म कम्पनीले २२ मेगावाट क्षमताको माई जलविद्युत आयोजना र माई ७ मेगावाटको माई क्यासेट जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर उत्पादन आरम्भ गरिसकेको छ ।
नविरकण शुल्क तिर्न नेप्सेको पत्राचार, १५ देखि ५० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने
काठमाडौं, ७ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सवै सुचिकृत कम्पनीहरुलाई सुचिकरण वापतको नविकरण शुल्क बुझाउन जानकारी गराएको छ । नेप्सेमा सुचिकृत भएर कारोवार गरे वापत सवै सुचिकृत कम्पनीहरुले चालु आर्थिक बर्ष सुरु भएको असोज मसान्तभित्रमा नविकरण शुल्क बुझाइ सक्नुपर्ने ब्यवस्था बमोजिम त्यस्तो शुल्क बझाउन नेप्सेले सवै सुचिकृत कम्पनीहरुलाई पत्राचार समेत गरेको नेप्सेका सहायक प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । धितोपत्र कारोवार सुचिकरण नियमावाली २०५० को दफा ९ मा सुचिकरण नविकरण शुल्क बार्षिक रुपमा नेप्सेलाई बुझाउनु पर्ने ब्यवस्था छ । सो ब्यवस्था अनुसार तोकिएकै समयमा शुल्क बुझाएर नविकरण गर्न गराउन नेप्सेले कम्पनीहरुलाई पत्राचार गरेको हो । यस्तो शुल्क ग्लोबल आइएमइ बैंकमा रहेको नेप्सेको खाता नम्बर ७५०१०१००००७७५ मा जम्मा गरेर सक्कल प्रति भौचर नेप्सेमा बुझाउन पत्रमा उल्लेख गरिएको छ । नेप्सेमा बार्षिक सुचिकरण नविकरण शुल्क वापत १ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले १५ हजार, १ करोडदेखि ५ करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक २५ हजार, ५ करोडदेखि १० करोड रुपैयाँसम्म चुक्ता पूजी भएका कम्पनीले बार्षिक ३५ हजार र १० करोड रुपैयाँ चुक्ता पूजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रुपैयाँ शुल्क तिर्नु पर्छ ।
राष्ट्र बैंकले पनि भन्योः नगद लाभांश सेयरधनीको बैंक खातामै जम्मा गरिदिनु
काठमाडौं, १ भदौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा नै जम्मा पार्नुपर्ने भएको छ । सार्वजनिक सेयर निस्कासनमा सेयर बाडफाड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा पारिदिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै यस्तो ब्यवस्था मिलाउन भनेको हो । धितोपत्र वोर्डले यसअघि नै नगद लाभांश सम्बन्धित ब्यक्तिको बैंक खातामा नै जम्मा पारिदिने ब्यवस्था मिलाउन सुचिकृत कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । ‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने गद लाभांश सेयरधनीको खातमा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ । सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) जारी गर्दा बाँकी रहेको रकम पनि सेयर फर्म भर्दा उल्लेख गरेको बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।