बोटलर्स नेपालले प्रतिशेयर २५ रुपैयाँ नगद लाभांस दिने, मंसिर २६ गतेभित्र सेयर किनि सक्नुपर्ने
काठमाडौं, १२ मंसिर । बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता बराबर २५ रुपैयाँका दरले नगद लाभांस दिने बताएको छ । कम्पनीको सोही सञ्चालक समितिको बैठकले मंसिर २६ देखि पुस ११ गतेसम्म सेयरधनी दर्ता किताव बन्द गर्ने निर्णय पनि गरेको छ ।कम्पनीले सेयरधनी दर्ता पुस्तिका साधारणसभा प्रयोजनार्थ बन्द गर्न लागेको जनाएको छ । लगानीकर्ताहरुले यस कम्पनीको सेयर किन्न चाहेमा यही मंसिर २६ गतेभित्र किनिसक्नुपर्ने छ । यस्तै कम्पनीको व्यवस्थापक आनन्द रत्नपार्खीले नोभेम्वर १० देखि कम्पनी छोडेको पनि जानकारी दिएको छ ।
मर्चेन्ट बैंकरको चुक्ता पुँजी वृद्धि गर्दै धितोपत्र बोर्ड
काठमाडौं, १० मंसिर । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्ने तयारी गरिरहेको छ । मचेन्ट बैंकरहरुको वित्तिय स्थायित्व कायम गर्नका लागि भन्दै बोर्डले पुँजी वृद्धि गर्न लागेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार मर्चेन्ट बैंकरहरुको वित्तिय स्थायित्व कायम गर्नका लागि उनीहरुको पुँजी वृद्धि जरुरी रहेकोले बोडले पुँजी वृद्धि गर्ने कार्य अघि बढाएको बताए । उनले मर्चेन्ट बैंकरहरुको पुँजी वृद्धिका लागि बोर्डले छलफल गरिरहको जानकारी दिदै प्रतिशतमा वा रुपैयाँमा कसरी बढाउने भन्ने मोडालिटी तयार भईनसकेको पनि जानकारी दिए । विभिन्न चरणमा छलफल गरेपछि मात्र पुँजी वृद्धि बारे निर्णय हुने पनि गिरीले जानकारी दिए । उनका अनुसार मर्चेन्ट बैंकरहरु पुजी वृद्धिको बारेमा सकारात्मक रहेका छन् । हाल मर्चेन्ट बैंकरहरुको चुक्तापुँजी कामको प्रकृति हेरेर एक करोडदेखि ७ करोड सम्म रहेको छ । शेयर रजिष्ट्रारको काम मात्र गर्ने मर्चेन्ट बैंकरको एक करोड, निष्कासन तथा विक्रि प्रबन्धकको काम पनि गर्ने कम्पनीको ३ करोड, धितोपत्र प्रत्याभुतिकर्ताको ४ करोड, लगानी व्यवस्थापन मात्र गर्ने कम्पनीको एक करोड र निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुति ,शेयर रजिष्ट्रेशन र लगानी ब्यवस्थापनको काम गर्ने मचेन्ट बैंकरको सात करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । हाल निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुति ,शेयर रजिष्ट्रेशन र लगानी ब्यवस्थापनको काम गर्ने मचेन्ट बैंकर १४ वटा रहेका छन् भने लगानी व्यवस्थापनको जिम्मा मात्र लिएका मर्चेन्ट बैंकर ४ वटा र लगानी व्यवस्थापन र शेयर रजिष्ट्रेसनको जिम्मा लिएका कम्पनी एकवटा रहेको छ ।
सेयर बजारमा ६५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं, १० मंसिर । यो साता सेयर बजारमा नेप्से परिसूचक ६५ दशमलब ५९ अंकले घटेको छ । लगातार घटिरहेको बजारमा परिसूचक अन्तिम दिन १५३४ दशमलब ३ अंकमा आएर रोकिएको छ । यो साताभर बजारमा ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा ३१ हजार ३३६ कारोबारबाट ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । गत साताको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता जम्मा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ । साताभर सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूहको १०५, विकास बैंकको ९९ र जलविद्युत समूहको ७० अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक, उत्पादनमूलक, अन्य र व्यापार समूहको परिसूचक क्रमशः ४९, १३, १० र एक अंकले परिसूचक घटेका छन् । यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७१ करोड १५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पाँचै दिन खुलेको सेयर बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।