८ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, को-को भए योग्य ?

काठमाडौं ।  शिक्षा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न ८ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारहरूको स्वीकृत नामावली प्रकाशन गरेको छ । 

मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम कुल २१८ वटा आवेदनहरू प्राप्त भएका थिए ।

ती आवेदनहरू मध्येबाट सिफारिस समितिको मिति २०८३ जेठ १३ गतेको निर्णयअनुसार विश्वविद्यालयगत रूपमा योग्य व्यक्तिहरूको दरखास्त स्वीकृत गरिएको हो । 

स्वीकृत नामावली अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि छुट्टाछुट्टै सूची सार्वजनिक गरिएको छ । 

जसमा त्रिभुवन विश्वविद्यालयका लागि सोम प्रसाद खतिवडा, पुष्पराज अधिकारी, सन्जय पौडेलसहित ४३ जनाको नाम स्वीकृत भएको छ । 

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका लागि रोजी श्रेष्ठ, विजय अर्यालसहित ३४ जना र पोखरा विश्वविद्यालयका लागि ३३ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको विवरणमा उल्लेख छ । 

यसैगरी, मधेश प्रदेश केन्द्रित राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ जना र मध्यपश्चिम विश्वविद्यालयका लागि १९ जना आवेदकहरू योग्य ठहरिएका छन् । 

प्राविधिक तथा विशिष्टीकृत विश्वविद्यालयतर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १३ जना र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको मन्त्रालयले जनाएको छ । 

स्वीकृत सूचीमा परेका यी उम्मेदवारहरूमध्येबाटै अब कार्यविधिले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित विश्वविद्यालयहरूको उपकुलपति पदका लागि अन्तिम नाम सिफारिस गरिनेछ ।

 

Share News