अमृत र स्मृतिको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक
काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र प्रिया भण्डारीसँगको सहकार्यमा हरितालिका तीजको शुभकामनासहित नयाँ तीज गीत केराको पात यूटुबमार्फत बजारमा सार्वजनिक भएको हो । आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई परेर तीज गीत बजारमा ल्याउने जानकारी दिएका छन् । मार्मिक शब्द र रोमाञ्चक सङ्गीत भएको हुँदा सङ्गीतप्रेमीले सो गीतबाट भरपुर मनोरञ्जन लिने विश्वास गायक खातीले गरेका छन् । गायक खातीले यसअघि मूलको पानीले, ओ के छ त, बीउ खायो कीरैलेजस्ता गीत गाइसकेका छन् । तीज गीतमा बजाइदेउ मादलु, नाचौँ घमीघुमी, कपालमा कलरजस्ता दर्जनौं गीत गाइसकेका छन् । रमाइलो विषयवस्तुमा निर्माण गरिएको उक्त गीतमा छायाङ्कन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेको हो । शिरिष देवकोटाको लय, शब्दभित्र अनुबन्धित गीतको म्युजिक भिडियोको गोरखा चौतारी म्युजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ । रासस
अल्पायुमै साहित्यकार अप्सराको निधन
हेटौंडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उनी आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिए उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । “लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भने । उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस
कस्तो होला तारा अधिकारीको मायाको घर ?
काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ । उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ । गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ । गीत लेख्नु सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो ।