सिमान्त र श्रृजनको स्वरमा रहेको ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ गीत सार्वजनिक

काठमाडौं । सिमान्त सन्तोष र श्रृजन त्रिपाठीको स्वरमा रहेको गीत ‘मलाई पनि रहर छ ठूलो मान्छे बन्ने…’ सार्वजनिक भएको छ । मिरा देवी राईको शब्द, नवीन कार्कीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा गायक सिमान्त र श्रृजन फिचर्ड छन् भने आफ्नो जीवनमा उदाहरणीय काम गरेर सबैको प्रेरणका स्रोत रहेका विभिन्न व्यक्तित्वहरुलाई देखाइएको छ । ‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ सिमान्त र श्रृजनले भने । ‘मेरो दिल दुखायौ के पायौ…’बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेका सिमान्तका थुप्रै गीतहरु चर्चामा छन् । विगत चार वर्षदेखि गायन क्षेत्रमा तल्लिन उनका एक दर्जन भन्दा बढी गीत स्रोता÷दर्शकको रोजाईमा परेका छन् । गायनमा विभिन्न अवार्डहरु पनि चुम्न सफल सिमान्त आफ्ना अन्य गीत जस्तै ‘मलाई पनि रहर छ…’ले पनि स्रोता÷दर्शकको साथ पाउँनेमा आफू आशावादी रहेको बताउँछन् ।

कोका–कोला ‘नेपाल आइडल सिजन ३’ को मुख्य प्रायोजक

काठमाडौं । कोका–कोलाले रियालिटी टेलिभिजन गायन प्रतियोगिता ‘नेपाल आइडल’ सिजन ३ मा मुख्य प्रायोजन गरेको छ । नेपाल आइडलले हालै देशभरको विभिन्न शहरहरुमा अडिसनको घोषणा गरेको छ । पप आइडलको नेपाली फ्रयानचाइज –नेपाल आइडल तथा निकै प्रसिद्ध सो एपी१ टेलिभिजन मार्फत प्रसारण हुनेछ जसले नेपालका इच्छुक र प्रतिभाशाली गायकहरुलाई प्ल्याटफर्म प्रदान गर्नेछ । कोका–कोला सदैव गीत संगीतसँग जोडिदै आइरहेको छ र नेपालमा पहिलो पटक कोका–कोलाले गायन रियालिटी सोमा प्रायोजन गरेको हो ।

संगित सापकोटाको ‘टीका’ कुञ्ज नाटकघरमा

काठमाडौं । भदौ २० गतेदेखि कुञ्ज नाटकघरमा ‘टीका’ मञ्चन भईरहेको छ । निर्देशक संगित सापकोटाको निर्देशनमा मञ्चन भएको उक्त नाटक भदौ २० गते शुक्रबारदेखि थापागाँउ स्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेकाे हाे। भिमनिधि तिवारीले लेखेकाे साे नाटक बुधबार बाहेक साँझ ५ः३० बजे र शनिबार १ बजेदेखि मञ्चन हुँदै आइरहेको छ । दशैं नजिकिँदै गर्दा कामका लागि विदेशिने नेपालीहरुको कथामा केन्द्रित रहेर लेखक तिवारीले नेपाली युवाहरुको विदेशिनु पर्ने बाध्यता, चाडपर्व सँगै मनाउन नपाउँदाको पिडालाई प्रस्तुत गरेका छन् । घरमा रहेको एउटा मात्रै छोरा त्यो नि परिवारकाे दैनिकी अवस्था सुधार गर्न, आवश्यकता परिपूर्ति गर्नका लागि विदेशिने लाखौं नेपाली युवाको बाध्यतामा आधारित भई निर्देशक सापकोटाले सरल एवं मार्मिक तवरबाट उक्त टिका नाटकको मन्चन गरेका छन् । प्रत्येक वर्ष आफ्नो देशको जनशक्ति बाहिरिँदा नेपाललाई पर्ने असर र युवालाई देशप्रति उत्पन्न हुने भावनालाई प्रस्तुत गर्दै नेपालमा नै युवाले केही गर्न सक्छन् है भन्ने सन्देश उक्त नाटकले प्रदान गर्दछ । दिलिप खड्काकाे प्रोडक्सन डिजाईनमा रहेको उक्त नाटकमा श्रवण राना मगर, विनिता गुरुङ, राजकगल फकिर, दिपेश काफ्ले, शारदा अधिकारी, सविन भट्टराई, मनिराज पौडेल, न्हुज महर्जन र आनन्द महत रहेका छन् । त्यस्तै नाटकमा संगीत संगित सापकोटा र मोनिस निरौलाको रहेको छ ।