बलिउड सुपरस्टार गोविन्दा नेपाल चलचित्र स्वर्णिम महोत्सवमा

काठमाडौं । बलिउडका सुपरस्टार गोविन्दा अहुजा नेपाल चलचित्र स्वार्णिम महोत्सवमा सहभागी भएका छन् । विरगञ्जमा बिहिबारदेखि हुने उक्त महाेत्सवमा सहभागी हुन श्रीमती सुनिता अहुजाकासाथ उनी  मंगलबार नेपाल आएका हुन्। नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने उक्त कार्यक्रम नेपालको चलचित्र क्षेत्र र यसबाट हुने सकारात्मक तथा नकारात्मक कुराको बारेमा छलफल हुने आयोजक चलचित्र निर्माता संघले जानकारी दिएको छ । नेपालका विभिन्न भाषा, संस्कृति, परम्परागत विषयलाई लिएर हुने उक्त कार्यक्रम कार्तिक २३ गतेसम्म हुनेछ । चलचित्र क्षेत्रमा आबद्ध रहेका राष्ट्रिय  तथा स्थानीय कलाकारको उपस्थिति रहने जनाइएकाे छ । सो कार्यक्रम मार्फत भविष्यमा चलचित्र क्षेत्रको अवस्था तथा चुनौतीका विषयमा पनि कुरा हुनेछ । नेपाली युवतीसँग विहे गरेकै कारण गोविन्दा पटक-पटक नेपाल आउने गरेका  छन् । गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागिता जनाउन उनी छोरीसहित नेपाल आएका थिए ।

साहित्यकार झमक घिमिरेको कृतिमा आधारित ‘जीवन काँडा कि फूल’ चलचित्र शुक्रबारदेखि प्रदर्शन हुँदै

काठमाडौं । साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ । उहाँ यो चलचित्रको सह निर्माता समेत रहेका छन् । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन । साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ । घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ । बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताएका छन् । चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ । घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गरेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढीको अभिनय छ । यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतिक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरेका थिए । शारीरिक तथा मानसिक रूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ । शारीरिक रूपमा असामान्य भएका यस्ता मानिसलाई दैवी श्राप÷पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि छ । उनीहरुको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दा गर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञानलाई व्यवहारिक रूपमा समेटिएको चलचित्रको लागत करिब रु ८० लाख रहेको छ । विसं २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेका कृतिमा सङ्कल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू र क्वाँटी सङ्ग्रह कविता छन् भने उनले प्राप्त गरेका पुरस्कार राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ हो । मस्तिष्क पक्षघातले गर्दा उनका लुला हातगोडा भएकाले उनको जीवन अत्यन्तै कष्टकर तथा दुःखदायी छ । उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिन पाएका थिएनन् । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्ररणादायी बनेको छ । रासस

सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ हुने

काठमाडौँ । टिभिएस टु ह्वीलरको नेपालस्थित एक आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टिभिएस अपाचे सप्तरङ्ग सिरिज २ सम्पन्न हुने भएको छ । यस मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन सातै प्रदेशका मुख्यमन्त्रीहरुले गर्नेछन् । सप्तरङ्गको पहिलो शृँखलाको लोकप्रियताबाट हौसिएको आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको यो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कात्तिक २१ गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ । कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहने छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल लगायतका चर्चित कलाकारहरुले आ-आफ्नो प्रस्तुति दिने जनाइएको छ । नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रुपमा मनाउन लागेको सन्दर्भमा पर्यटन प्रवद्र्धन र समुन्नतिका लागि भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले भ्रमण वर्षको लक्ष्य प्राप्तीमा सहयोग पु¥याउने अपेक्षा पनि गरिएको छ ।