मिसेस एण्ड मिस गुरुङ २०२० बन्न सफल भए चिनीमाया र सुस्मिता
काठमाडौं । मिसेस एण्ड मिस गुरुङ २०२० को ताज मिसेस चिनीमाया गुरुङ र मिस सुस्मिता गुरुङले पहिरहन सफल भएका छन् । यसरी, मिसेस गुरुङ तर्फ फर्स्ट रनरअप र मस्ट पपुलर पुजा गुरुङ, सेकेन्ड रनरअप लिला देबी गुरुङ, थर्ड रनरअप प्रेम कुमारी गुरुङ, अर्गनाइजर च्वाईस बिमाया गुरुङ र होममाया गुरुङ भिउर्स च्वाइस मनमाया गुरुङ र फेसबुक चवाइस रोशनी गुरुङले जित्न सफल भएका छन् । त्यसैगरी, मिस गुरुङ तर्फ फर्स्ट रनरअप निशानी गुरुङ सेकेन्ड रनरअप र फेसबुक च्वाइस जोनिशा गुरुङ, मस्ट पपुलर धन माया गुरुङ, अर्गनाइजर च्वाइस सरिता गुरुङ र चाहना गुरुङ, भिउर्स च्वाइस सुस्मिता गुरुङ भएका छन् । विजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए । प्रमुख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमल काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगिता विगत २ वर्ष देखि एस.के. इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, केशव थापा, पाल्साङ तामाङ, सुमना गुरुङ र कृष्ण गुरुङ रहेका थिए । गुरुङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यावसायिक महिला दिदी बहिनी मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । मिसेस एण्ड मिस गुरुङ २०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो । उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन । प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराईएको थियो । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन । यस सौन्दर्य प्रतियोगीताले विवाहित गुरुङ नारी, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि विश्वस्त छिन । प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
अन्तर्राष्ट्रिय मूर्तिकला प्रदर्शनी सोमबारदेखि , १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदै
बागलुङ । गलकोट नगरपालिका–५ टेउवामा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु हुँदैछ । कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको आयोजक गलकोट कला प्रतिष्ठानले जनाएको छ । कार्यशालास्थलमा आवश्यक पूर्वाधार तयार गरी व्यवस्थापकीय काममा लागिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । कार्यशालाका लागि विदेशी कलाकार नेपाल आउने क्रम शुरु भएको र जापानका मूर्तिकार जुन इचिरो सुगिमोतो काठमाडौँ आइसकेको उनको भनाइ छ । कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकारले भाग लिँदैछन् । ‘कार्यशालास्थलमा ११ देशका झण्डा फहराइएको छ, मूर्ति कुँद्ने ढुङ्गा तयारी अवस्थामा छन्’, अध्यक्ष रानाले भने, ‘कलाकारको आवासका लागि अस्थायी टेन्टको व्यवस्था गरिएको छ ।’ कलाकारको भोजनका लागि पोखरादेखि दुई तालीमप्राप्त ‘कुक’ बोलाइएको प्रतिष्ठानले जनाएको छ । सडक, भवन, शौचालय खानेपानी, बिजुली, सवारी राख्ने ठाउँलगायतका संरचना यसअघि नै बनिसकेका छन् । पाँच नेपाली र १० विदेशी गरी १५ कलाकारले १५ दिनसम्म टेउवामा बसेर मूर्ति कुँद्नेछन् । मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच गरी १० सहयोगी मूर्तिकार पनि कार्यशालामा आउँदैछन् । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिनेछन् । यस्तै जुन इचिरो सुगिमोतो (जापान), लिउ याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर्स गोँजालेज (फ्रान्स), लिनलि जेन (ताइवान), जुली ग्ल्यास्पी (क्यानाडा), टुटु पटनायक (भारत), तान्या प्रिमिङ्गर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्युड्मेलले कार्यशालामा भाग लिने जनाइएको छ । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । कलाकारले कार्यशालामा बसेर राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेउता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति कँद्न पाउने छैनन् । मानव सभ्यता, वेषभूषा, प्रकृति आदि विषयमा प्रतिकात्मक मूर्ति बनाउनेछन् । आर्थिक वर्ष २०७३/७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशाला सम्पन्न गर्दासम्म थप रु एक करोड ४१ लाख ७८ हजार खर्च हुने प्रतिष्ठानले जनाएको छ । कार्यशालाको खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने देखिएको छ । कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु ४० लाख बजेट छुट्टिएको थियो । गलकोट नगरपालिकाले पनि रु तीन लाख बजेट विनियोजन गरेको थियो । नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । चालू आवमा गण्डकी प्रदेश सरकारले रु ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट रु १० लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट रु पाँच लाख सहयोग प्राप्त भएको छ । यस्तै व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट रु पाँच लाख, पूर्णबहादुर रानाबाट रु तीन लाख, तिलबहादुर खत्रीबाट रु तीन लाख, शान्ति श्रीषबाट रु तीन लाख, दलबहादुर पुनबाट रु एक लाख १० हजार, यमबहादुर श्रीषबाट रु एक लाख र फमलाल न्यूरेबाट रु एक लाख प्राप्त भएको जनाइएको छ । स्वतःस्र्फूतरूपमा सहयोग जुट्ने क्रम जारी छ । कार्यशालाका लागि स्थानीय कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीले करिब रु ३० लाख मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क दिएका थिए । फागुन २१ गतेसम्म सञ्चालन हुने मूर्तिकला कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने भएका छन् । रासस
बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन आइतबारदेखि सुरु
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो । रङ्गकर्मी केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘करेसा कन्सर्ट’ यसअघि नेपालबाट प्रतिनिधित्व गर्दै कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव भारतमा विश्व प्रिमियिर गरिएको थियो । साथै माघ २३ गते राष्ट्रिय बालनाटक महोत्सव नेपालमा पनि मञ्चन भएको थियो । ३ देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि विशेष लक्षित गरेर तयार पारिएको नाटकमा अभिनय पनि बालबालिकाले नै गरेको छ । यसर्थ निर्देशक केदार श्रेष्ठका अनुसार नाटक ‘करेसा कन्सर्ट’ विशुद्ध बालनाटक हो साथै बाल सहभागितामूलक नाटक पनि हो । नाटकमा नसना महर्जन (खुर्सानी र साग), सविना सेन (प्याज र लौका), ओसिन राई (धनियाँ), लकस महर्जन (फर्सी), सुधा खनाल (तीतेकरेला), आशियाना रायमाझी (गोलभेडा), कविना रोक्का (मुला), विजया पाण्डे (काँक्रो), सुजाता भट्ट (लसुन) र मञ्जु महर्जन (अदुवा) ले अभिनय गरेका छन् । करेसाबारीमा भएका तरकारीनज्य पात्रहरु फर्सी, साथ, लसुन, गोलभेडा, प्याज, लौका, मुला, धनियाँ, खुर्सानी, अदुवा आदिमार्फत कथा बुनिएको छ । यी पात्रहरुको मपाईत्वले निम्त्याएको वैमनस्यता र झैझडाबाट सुरु हुने कथा मेलमिलाप र सदभावमा पुगेर टुंगिन्छ । हरेक तरकारीबीच अस्वस्थ प्रतिस्पर्धा, घोचपेचबाट करेसाबारीमा सामाजिक समस्या उत्पन्न भएपछि करेसाबारीका मुखिया फर्सीले करेसाबारीमा एक कार्यक्रमको आयोजना गरेर समस्या समाधान गर्ने जुक्ति निकाल्छन् । उनले एक परिचयात्मक कार्यक्रम गर्दै सबैलाई आफ्नै बारेमा जतिसक्दो बढी कुरा भन्न र आफ्नै गुनगान गाउन लगाउँछन् । त्यस कार्यक्रममा सबैले आफ्नो बारेमा विभिन्न प्रस्तुतिसहित आफ्नो महत्व र विशेषताबारे बोल्छन् । कार्यक्रम सकिदासम्म सबैले सबैको अस्तित्व बोध गर्दै करेसाबारीमा सबैको उत्तिकै भूमिका र महत्व भएको निश्कर्ष निकाल्छन् र खुशी हुन्छन् । नाटक ‘करेसा कन्सर्ट’बारे निर्देशकका कुरा नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारीहरुले आफ्नो महत्व र विशेषताहरुबारे चर्चा त गर्छ नै । त्यसका साथै ती तरकारी पात्रहरुमार्फत नेपाली समाजको बेमेल, रुढी, भेलभाव, वैमन्स्यता, अहम्ता आदिलाई पनि चित्रण गरेको छ । यसर्थ यो बालनाटक सँगै सामाजिक यथार्थवादी नाटक पनि हो । यसमा मानव समाजको कथा पनि भेटिन्छ भने तरकारी पात्रमार्फत तरकारीहरुको विशेषता र महत्वको सन्देश पनि बुनिएको छ । नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो । बालनाटक हुन विषयवस्तु र प्रस्तुति पनि बालबालिका केन्द्रित हुनु जरुरी छ । यसर्थ यो नाटक बाल सहभागितामूलक नाटक त हो नै साँच्चिकै बालनाटक पनि बनाउने प्रयत्न गरेको छु । यस कथा १० वर्ष अघि रुम टु रिडले ‘करेसाबारीका जडिबुटीहरु’ नामको मेरो पुस्तक प्रकाशित गर्दै नेपालका अधिकांश सामुदायिक विद्यालयको पुस्तकालयसम्म पु¥याइरहेको छ । ३० हजारभन्दा बढी प्रति प्रकाशित यसको हाल चौथो संस्करण प्रकाशित छ । यसै पुस्तकले २०६६ को राष्ट्रिय बाल चित्र पुरस्कार पनि प्राप्त गरेको थियो । सोही पुस्तकको मूल कथा लिएर नाटक ‘करेसा कन्सर्ट’ लेखेको हुँ ।