सिनेमा हल बन्द हुँदा ‘कोपिला’ फिल्म डिशहोमबाट रिलिज 

काठमाडौं । कोरोना भाइरसको कारण देशभरी लकडाउन भई सिनेमा हल बन्द हुँदा चलचित्र ‘कोपिला’ डिशहोमबाटै रिलिज हुने भएको छ । लगातारको बन्दका कारण यस फिल्मका  निर्माता मणिराज गौतमले डिशहोमबाटै फिल्म रिलिज गर्न लागेको बताएका छन् । उनका अनुसार यो चलचित्र अब डिसहोमको पे च्यानलमार्फत रिलिज गरिने र दर्शकहरूले डिसहोम च्यानल नम्बर १०८ मार्फत पैसा तिरेर हेर्न पाउने जानकारी दिएका छन् । आज (वैशाख ३० गते)बाट दैनिक आठ सोको दरले डिसहोमबाट फिल्म रिलिज हुनेछ । निर्माता गौतमले भने, ‘हलमा सिनेमा रिलिज गर्न सकेनौं र हल कहिले खुल्ने टुंगो पनि भएन,त्यसैले लकडाउनको बेला आफ्नो समयअनुसार सिनेमा टेलिभिजनमा हेर्न पाउनुहुनेछ ।’ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रले यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष सोमार्फत आएको रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोगसमेत गरिएको चलचित्रका निर्माता गौतमले बताए । चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए । चलचित्रका निर्देशक शिवम अधिकारी हुन् । उनले पनि कोरोना भाइरस त्रासदीका कारण सिनेमाहल सञ्चालनमा आउन ढिलाइ हुने भएकाले लकडाउनमा बसेका दर्शकहरूको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत चलचित्र प्रर्दशन गर्न लागेको बताए । बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई चलचित्रले बोल्ने निर्देशक अधिकारीले बताए । दीपक शर्माको संगीत, निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादन छ । गणेश गिरीको प्रस्तुति रहेको कोपिलाको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन् । यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय छ ।

अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

काठमाडौं । विश्व प्रसिद्ध रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि यात्रामा नेपालका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् । आइडलको १८ औं संस्करणको उपाधि यात्रा अगाडी बढ्ने क्रममा दिवेश उत्कृष्ट ७ भित्र पर्न सफल भएका छन् । आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा उत्कृष्ट ७ को छनोट गरिएको हो । २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले आफूलाई प्रतिस्पर्धा गरेका छन् । दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए । अमेरिकन आइडलमा दिवेशको सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा आफ्नो परिवारसँग बस्दै आइरहेका छन् । उनकाे प्रस्तुती हेर्न यहाँ क्लिक गर्नुहाेस् ।   

कविताः ढुंगा र ईश्वर

भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए मन्दिर बनाइदिए मस्जिद बनाइदिए चर्च बनाइदिए गुम्बा बनाइदिए कहिले परेवा उढाउन लगाए कहिले बोका काट्न लगाए अगरबत्ति, धुप…अक्षता… आशाहरु बेच्दै मेरो सम्मुख मेरै फोटो बेचिदिए आउन नभ्याउलान् भनेर चौबिसै घन्टा मन्दिरका ढोकाहरु खुल्लै राखे कहिल्लै ताला लगाएनन् मस्जिदमा बरु उल्टै प्रसाद सित्तै बाँडे बाइबल बाँडे कुरान बाँडे गिता बाँडे त्रिपिटक बाँडे तर खै के पढे कुन्नि ? पढ्नेहरु लडे बरु पुस्तक एक आपसमा कहिल्यै लडेनन् म कहिल्यै बोलिन उनिहरु मात्र बोलिरहे म त शान्त शालिन बुद्ध बनिरहेँ स्थिर ढुंगा बनिरहेँ कहिले विश्वासमा ठड्याए कहिले अविश्वासमा भत्काए तरपनि फगत् दिनहुँ खोल्सा दोभान भिर पाखा ऐलानी जग्गाहरुको ढुंगा छुँदै अहिले पनि मानिस खै किन हो मलाई ईश्वर मानेर कसम खान्छन् र आफ्नो निजी व्यवहार मिलाउँछन् ।                                                                                                                                  बिराटनगर–५                                                                                                                          हाल मेन्छयायेम्, तेह्रथुम