गायक सनम लामाको ‘आकाशको जुन’ सार्वजनिक

काठमाडौं । गायक सनम लामाको स्वर रहेको ‘आकाशको जुन’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । आधुनिक शैलीमा तयार गरिएको गीतमा शब्द सौरभ राणा मगर तथा संगीत सनम लामाकै रहेको छ भने सविन लिम्बुले एरेन्ज गरेका हुन् । चर्चित इन्टरटेनमेन्टलेनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन अर्जुन क्षेत्रिले गरेका हुन् । ललितपुरका विभिन्न स्थानमा छायाँकन गरिएको गीतमा कलाकारहरु खेसेहाङ खजुुम, दिलिप खड्का र नारायण काफ्लेको अभिनय देख्न सकिन्छ । बिशाल प्याकुरेलको छायाँकन, गणेश राइको कथा रहेको भिडियोको सम्पादन सनम लामाले गरेका हुन् । गीतलाई दासि इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथा चित्रण गरिएको छ ।

आजबाट डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिशमिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।

सिटी एक्सप्रेस बन्यो भोईस अफ् नेपालको सह प्रायोजक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अफ् नेपाल-सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ । सो कार्यक्रम हिमालय एच् डी टिभीबाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ । काठमाडौं स्थित र्याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भोईस अफ् नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रम सँग आबद्ध हुन पाउदा खुशी लागेको साथै सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए । त्यसरी नै भोईस अफ नेपालले पनि देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गरेकोमा उनले खुशी व्यक्त गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।