चलचित्र राधाको प्रदर्शनी रोकियो

काठमाडौं । गत शुक्रवारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो । चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ । शुक्रवार ४५ शो पाएको चलचित्रले शनिवार ५० शो र तिजको दिन ५५ शो भन्दा माथि पाउने आश गरेपनि अपेक्षाकृत रुपमा हलहरुले शो नदिएको उनीहरुको आरोप छ । नेपाली फिल्म राधाले दर्शकको राम्रो प्रतिक्रिया पाएको तर हलहरुले प्रदर्शनको समय नदिएको उनीहरुको गुनासो छ । पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक सुवर्ण थापाले हलहरुले दर्शक जाँदाजाँदै पनि शो घटाएर अन्याय गरेको बताए । उनले फिल्म लामो समयसम्म चल्ने अपेक्षा राखेको र दर्शकहरु आइरहेको बेलामा शो नै नदिनु नेपाली चलचित्र क्षेत्रमै अन्याय भएको बताए । आफूसँगै प्रतिस्पर्धामा रहेको प्रकाश चलचित्रले पनि पत्रकार सम्मेलन गरेपछि मात्रै केही शोहरु बढाएको बताए । त्यस्तै अभिनेता सौगात मल्लले हलहरुले शो नदिए वैकल्पिक उपाय सोच्नुपर्ने बताए अभिनेत्री श्रृष्टि श्रेष्ठले अब चाँडै अर्को विकल्प खोजेर दर्शकसामु पुग्ने बताए । उनले वैकल्पिक उपायबाट दर्शकसँग जोडिने बारेमा छलफल भइरहेको र अन्यायमा पर्ने अन्य फिल्महरुका बारेमा यसले सहयोग पुग्ने बताए । सुवर्ण थापाको निर्देशन रहेको फिल्ममा सौगात र श्रृष्टी बाहेक दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्यदेव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आदियोगी भिजन, महारानी इन्टरटेन्मेण्ट युके, मण्डला अनलाइन र एएमआइ फिल्मस्को प्रस्तुती र मन प्रोडक्शनको एशोसिएशनमा निर्माण भएको हो । फिल्म बिरजना इन्टरटेन्मेण्ट तथा विक्रमदास जोशी सह–निर्माता रहेका छन् । फिल्ममा सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।

मिस नेसन नेपालको उपाधि अनिशा श्रेष्ठलाई

काठमाडौं । मिस नेसन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेसन नेपालको ताज साथै नगद १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पुर्णिमा प्रजापती र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छन । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेसन नेपाल २०२२ को निर्णायक मण्डलमा धुर्ब बुढाथोकी, ज्वाला राज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए । मिस नेसन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सन्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए । यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पुर्णिमा प्रजापती, मिस फ्रेन्डली मरिना ढुङ्गेल,मिस कन्फिदेन्स श्वेता शर्मा, मिस त्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अन्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो । कार्यक्रम थापाथली स्थित ब्लुबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बश्यालले गरेका थिए । कार्यक्रम सन्चालन रोहित भट्टले गरेका हुन । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।

पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न

काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो । पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला पदर्शनी हो । खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु पदर्शनीमा शमावेश गरिएको थियो । पदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए । पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशक भन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ । सिङले अहिलेसम्म ४ वटा पदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’को नामबाट पहिलो पदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो पदर्शनी हो । आफ्नो कला पदर्शनीको मुख्य उद्देश्य नेपालको गर्नु रहेको उनको भनाइ छ । यसपटक नेपालमा गरेको पदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । पदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य पदर्शनीमा मुख्य नरहेकाले तुलनात्मक रुपमा सफल भएको थापाको भनाई छ ।