कलामा नेपाली ‘क्यारिकेचर’, बालेन र हर्कका चित्र आकर्षक

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को खुबै चर्चा भयो । स्वतन्त्र रुपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी उनीहरूका चर्चा चुलिनु स्वभाविक थियो । सामान्य साइकलमा हिँड्ने राइको जीवनयात्राले धेरै नेपालीको मन जित्यो । अहिले पनि राई नगरका सामान्य काममा आफैँ खटिएका दृष्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ । दुवै मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्नुहोला ? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन । यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उनका मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो । प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राइको क्यारिकेचर बनाएका छन् भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखेर शाहको क्यारिकेचर बनाएका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएको उनी (काठमाडौं महानगरका प्रमुख शाह र धरान उपमहानगरपालिकाका प्रमुख राई) का क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ । आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गरे । क्यारिकेचरले समाजसँग प्रत्यक्ष सम्बाद गर्छ । त्यसैले समाज रुपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर । कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो । कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ । प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उर्जागर गर्ने प्रयास गरेको पाइन्छ । क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन । सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन् । हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो । बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ । बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ । मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो । कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर हो भन्छन् कला समीक्षक रमेशनाथ खनाल । उनका अनुसार नेपालमा प्रताप मल्लको पालादेखि नै गाईजात्राका अवसरमा दिवङ्गत आत्मा शान्तिका लागि भनेर प्रदर्शन गरेर हिँड्ने परम्परालाई क्यारिकेचरको रुपमा लिइन्छ । नेपालमा परिस्कृत क्यारिकेचरको विकास भने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लबअफ नेपालको स्थापनापछि भएको हो । कला समीक्षक खनाल चित्रगत स्वस्थता, रङ्गत सुन्दरता, भावगत सम्प्रेशण र पूर्णताको प्रभावले मात्रै राम्रो क्यारिकेचर बन्ने बताउँछन् । क्यारिकेचरबारे बताउँदै नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज भन्छन्, ‘अनुहारको व्याङ्ग्यात्मक हाउभाउ, रङ र रेखाद्वारा व्यक्तिको भावसहितको अतिरञ्जना गरिएको चित्र नै क्यारिकेचर हो ।’ यसपटक नाफा र कार्टुनिष्ट क्लबले क्यारिकेचर विधामा महिला कलाकारलाई समेट्ने प्रयासस्वरुप गएको पुसमा प्रशिक्षण दिएको थियो । त्यहाँबाट उत्पादन भएका र पुराना गरी ४१ चित्रकारका क्यारिकेचर तीनदिने प्रदर्शनमा राखिएको छ । विसं २०७४ देखि नै नियमित रुपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ । कोरोन महामारीका समयमा भने भर्चुअल रुपमा प्रदर्शन गरिएको थियो । अध्यक्ष क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण गर्नुहुन्छ । यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ । जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ । अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरुष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ । कूल ४१ कलाकारमध्य १७ नयाँ कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् । रासस

ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल प्रतियोगिता हुँदै

काठमाडौं । ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फोलिज् इन्टरनेशनलको आयोजनामा सन् २०२२ अन्तर्गत सो प्रतियोगिता सम्पन्न हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । जुलाई १६ मा द ब्रिटिस कलेज थापाथलीमा सर्टलिस्टमार्फत प्रतियोगीहरु छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २१ वर्षका युवायुवतीहरु सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा पहिलो हुनेले ब्रिटिस कलेजको तर्फबाट २० लाख बराबरको छात्रवृत्ति प्राप्त गर्ने र आयोजकको तर्फबाट १ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ । त्यस्तै प्रतिस्पर्धामा फर्स्ट रनर अप हुनेले बिृटिस कलेजको तर्फबाट १५ लाख सम्मको छात्रवृत्ति र सम्पूर्ण सहभागीहरुले बृटिस कलेजमा अध्ययन गर्दा पहिलो वर्षको लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहहरुले १५ हजार शुल्क बुझाएर सहभागी हुन सक्नेछन् । पहिलो चरणको अडिसनमा सहभागी हुन मिस्टर एण्ड मिस टिन नेपालको फेसबुक पेजमा गएर अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ । जुलाई १६ गते आयोजना हुने अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई बैयक्तिक विकास गराइने छ । अन्तिम प्रतियोगितामा विजय हुनेले पुरस्कार र छात्रवृत्ति पाउनुको १० अक्टुबर २०२२ मा आयोजना हुने टप मोडल अफ युनिभर्समा सहभागी भएर प्रतिस्पर्धा गर्न पाउनेछन् । फोलिज इन्टरनेशनले मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको आयोजना पहिलोपटक सन् २०१७ मा आयोजना गरेको थियो । अहिले हुन लागेको उक्त कार्यक्रम दोस्रो संस्करण हो । सन् २०१७ मा सञ्चालन भएको प्रतियोगितामा मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक बिजेता पंकज सिंह ठकुरी ब्राजिलमा फर्स्ट रनर अप भएका थिए भने मिस टिन वल्र्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माइल तथा बेष्ट नेशनल कस्ट्युम हात पारेकी थिइन् ।

मध्यपूर्वको शीर्ष ३० शेफमा छनोट भए नेपाली युवा राहुल श्रेष्ठ

काठमाडौं । नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्व क्षेत्रमा ३० वर्ष मुनिका शीर्ष ३० शेफमा छनोट भएका छन् । क्याटरर मिडल इष्टले ३० वर्ष वा सोभन्दा कम उमेरका ३० माथि आउने शेफहरूको सूची सार्वजनिक गर्दा नेपाली युवा राहुल श्रेष्ठ पनि परेका हुन् । २८ वर्षीय राहुल चितवन कोइ प्रालिका सञ्चालक व्यवसायी राजेशबाबु श्रेष्ठका छोरा हुन् । उनी हाल ब्यागेटेल दुबईमा सु शेफका रुपमा कार्यरत छन् । क्याटरर मिडल इष्टका अनुसार यो सूचीले कनिष्ठ शेफहरूदेखि रेस्टुरेन्टहरू, महाप्रबन्धकहरू र यस क्षेत्रका केही सबैभन्दा सम्मानित प्रतिष्ठानहरूमा कार्यकारी शेफहरूसम्मका विभिन्न व्यक्तिहरूलाई समेट्ने गर्दछ । क्याटरर मिडल इष्टले प्रत्येक वर्ष छनोट गर्ने त्यस क्षेत्रका सबैभन्दा प्रतिभाशाली र कडा परिश्रम गर्ने एफ एन्ड बी पेशेवरहरूमध्ये उत्कृष्ठ ३० जनाको नाम छनोट गर्दै आएको छ ।