यि हुन् दसैँमा प्रदर्शनमा आउने चलचित्र
काठमाडौं । दसैँ प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दसैँमा तीनवटा चलचित्र प्रदर्शन गरिने भएका छन् । कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर आजदेखि प्रदर्शन गरिँदै छ । छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको यो चलचित्र विगतको बन्दाबन्दीका कारण प्रदर्शन हुन सकेको थिएन । यो चलचित्र नेपाल र भारतमा पनि एकसाथ प्रदर्शन हुँदैछ । चलचित्र ‘प्रेमगीत ३’ नेपाली भाषासँगै हिन्दी भाषामा पनि निर्माण गरिएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र साङ्गीतिक प्रेम कथामा आधारित हो । यसअघि ‘प्रेम गीत’ ‘प्रेम गीत २’ प्रदर्शनमा आइसकेका छन् । अभिनेता प्रदीप खड्का र नवअभिनेत्री कृष्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्रमा मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । त्यस्तै चलचित्र ‘बाबरी’ यही असोज १४ गते शुक्रबार प्रदर्शन हुँदैछ । चलचित्रमा अभिनेत्री अदिती बुढाथोकी र अभिनेता धीरज मगरको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यस चलचित्रलाई निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । यो चलचित्र नेपालसँगै विदेशमा पनि एक साथ प्रदर्शन हुँदैछ । दक्षिण कोरिया, अष्टेलिया, हङकङलगायत अन्य देशमा पनि असोज १४ गते नै प्रदर्शन हुने निर्देशक पौडेलले जानकारी दिए । बाबरी फिल्मको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र पुष्पलता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र ‘दुई नम्बरी’ विजयादशमीको दुईदिन पछि अर्थात् असोज २१ गते प्रदर्शन गरिने भएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यस चलचित्रमा अभिनेताद्वय दयाहाङ राई, सौगात मल्ल र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य अभिनय रहेको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको संयुक्त लगानीमा बनेको यो चलचित्र सामाजिक कथावस्तुमा आधारित छ । यो चलचित्र पनि नेपाललगायत विदेशमा प्रदर्शन गरिने भएको छ । चलचित्र पक्षले अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, अमेरिकामा भएका नेपाली दर्शकले चलचित्र हेर्न पाउने जानकारी दिइएको छ । चलचित्रमा नवनायिका उगेन छोदेन, बुद्धि तामाङ, शारदा गिरी, कविता आले, सुष्मा निरौलालगायत कलाकारको अभिनय छ । यसअघि चलचित्र पक्षले कात्तिक ४ गते तिहारमा प्रदर्शन मिति तोकेको थियो । त्यस्तै चलचित्र ‘हिजोआजका कुरा’दसैँ सकिएपछि र तिहारको मुखमा अर्थात् असोज २८ गते प्रदर्शन हुँदैछ । कलाकार सन्तोष पन्तले लामो समयदेखि निर्माण गर्दै आएका हाँस्य टेलिशृङ्खलालाई अब चलचित्रमा परिणत गरिएको हो । उक्त चलचित्रमा कलाकार पन्तका छोरा साकारले निर्देशन गर्नुभएको छ । कलाकार पन्त र रमा थपलियाको मुख्य अभिनय रहेको उक्त चलचित्रमा रिमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, नितेशराज पन्त, विनायक कुइँकेललगायत कलाकारको अभिनय रहेको छ । चलचित्र प्रदर्शनका लागि दसैँ, तिहार बिदा उपयुक्त मानिँदै आएको छ । अरु बेलाभन्दा दसैँमा आमदर्शक घरपरिवारसँग रमाइलो गर्ने, चलचित्र हेर्ने, मनोरञ्जन गर्ने मुडमा हुन्छन् । त्यस कारण सामान्य चलचित्र पनि व्यावसायिक हिसाबले सफल हुनेमा निर्माताको विश्वास छ । यस वर्षको दसैँमा प्रदर्शनमा आउने चलचित्र निर्माताले आफ्नो चलचित्र भिन्नभिन्न कथावस्तुमा रहेको बताएका छन् । रासस
नेपालबाट अस्कर अवार्डमा ‘ऐना झ्यालको पुतली’ सिफारिस
काठमाडौं । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने भएको छ । प्रतियोगिताका रुपमा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा गत सोमबार बसेको बैठकले प्राप्त फिल्ममध्येबाट सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर छनोट गरेको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले बताए । उनले भने, ‘हामीलाई तीन फिल्म प्राप्त भएको थियो । ऐना झ्यालको पुतली अहिले हामीले खोजिरहेको कलात्मकता बोकेको फिल्म नै हो । त्यसैले हाम्रो निर्णय यसलाई नै नेपालको प्रतिनिधित्व गरेर पठाउने भएको हो ।’ नेपालको ग्रामीण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ भाइको रहरको कथा, दिदीको सपनाको कथा र आमाको सङ्घर्षको कथा हो । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बू, विषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्तालगायतका कलाकारको अभिनय रहेको छ । भाद्र २४ देखि देशैभरको फिल्म हलमा फिल्म प्रदर्शनरत छ । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिद्वारा अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म पेस गर्न आह्वान गरिएको थियो । नेपालबाट अस्करको प्रतिस्पर्धामा सामेल हुन् दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ को आवेदन प्राप्त भएको थियो । रासस
रमेश थापा र आशा लामाको दशैं गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक
काठमाडौं । गायक रमेश थापा र गायिका आशा लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दशैं गीत सार्वजनिक गरिएको हो ।काठमाडौं डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत ज्ञानमाला म्युजिक प्रालीबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा बेबारिसे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेत, उनकी धर्मपत्नी पुजा विश्वकर्मा र आशा लामाको मुख्य अभिनय रहेको छ । गीतको निर्देशन निरज श्रेष्ठले गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष विक्रमजंग शाहले गीतसंगीत र कलाकारको काम गीत गाउने, नचाउने र आम मानिसलाई जम्मा पार्ने मात्र हो भन्ने शैलीलाई संघले परिवर्तन गरेको बताएका छन् । र, त्यसबारे कलाकारहरुले बुझ्नुपर्ने उनको भनाइ थियो । कलाकारहरुलाई जहिले अफठेरो पर्दा सधै संघले सहयोग गर्दै आएको पनि उनले बताए । गायक नवराज घोरासैनीले नेपाल ३ सय ६५ वटा संस्कृतिको धनी देश भएको बताए । पछिल्लो समय रत्यौलीदेखि मार्मिक गीत लिएर देशलाई सुहाउने गीतको सृजना भइरहेको उनले सुनाए । र, उक्त गीत आम मानिसहरुको दुःख सुःख समेटेर बनेको भन्दै उनले दशैँ जस्तो नेपालीको महान चाडमा दिदीभाईको माया गीतमा झल्कके बताए । यसैगरी, भिडियोमा मुख्य भुमिका निभाएका विनयजंग बस्नेतले गीत सामाजिक, सन्देश मुलक र चेतनामुलक भएको बताएका छन् । गीतको भिडियो पनि राम्रो बनेको उनको दाबी छ । बस्नेतले सबैले लोकसंगीतलाई जर्गेना गर्नुपर्नेमा जोड दिँदै लोकगीतलाई सबैले माया गर्नुपर्ने धारणा राखे । उक्त गीत विदेशमा रहेका नेपालीहरुप्रति समर्पित रहेको उनले स्पष्ट पारे । गीतमार्फत विदेशिएका छोराहरुले आफ्ना बावु आमालाई बिर्सियो की भनेर सम्झाउन खाजेको पनि बताए । त्यस्तै, गायिका आशा लामाले नेपालीहरुले विदेशमा गएर धेरै दुख गर्न परेको सुनाइन् । आफ्नो परिवारलाई नेपालमा छाडेर विदेशिन बाध्य हुने पीडा सुनाउँदै उनले दुःख गरेर पैसा पठाए पनि आफन्तले छाडेर गएको अवस्थालाई गीतमा उतारिएको उनको भनाइ थियो । यसैगरी, गंगाराम धितालले विदेशमा बसेका दाजुभाईहरुले नेपालमा रहेको आफन्तलाई सम्झने बताएका छन् । विदेशी भूमिमा रहेका नेपालीहरुले दशैँमा परिवारको सम्झना गीतमा झल्कने स्पष्ट पारे ।