कबड्डी–४ को किर्तिमानी : पहिलो दिनमै कमायो २ करोड ९० लाख रूपैयाँ

काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाएको छ । पहिलो दिनमै २ करोड ९० लाख रुपैयाँ कमाउँदै सो सिनेमाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् ।

वैशाख ६ गतेदेखि मन्चन हुँदै नाटक ‘उलार’

काठमाडौं । नाटक ‘उलार’ यही वैशाख ६ गतेबाट मन्चन हुने भएको छ । उक्त नाटक टेकुस्थित कथा घेरामा वैशाख १८ गते सम्म मन्चन हुन लागेको हो । लेखक नयनराज पाण्डेले २०५३ सालमा लेखेको किताबको नाटकको रुपान्तरण चे शंकरले गरेका हुन् । नेपालगंजमा टाँगा चलाउने प्रेम ललुवाको वरिपरी नै नाटक बनेको नाटकका निर्देशक चे शंकरले बताए । ‘कला भनेको सापेक्ष हुनुपर्छ, थिएटरले बोल्ने भाषा भनेको दृश्यात्मक हुन्छ, उलारले सामाजिक, आर्थिक, राजनितिक, वैचारिक र सांस्कृतिक भुइँमान्छेको कथा बोल्छ, यसैले हामीले यसलाई नाटकको शैली दिएका हौं । कला यस्तो टुल हो समाजको जसले प्रगातिशिल भावना र विचारलाई मान्छेको माध्यमबाट बोल्छ,’ उनले भने ।  गार्डेन थिएटर प्रडक्सनले कथा घेरसँगको सहकार्यमा निर्माण गरेको यस नाटकमा नविन चन्द्र अर्याल, सबिर चौराटे, विशाल केसी, विवेक नाथ कुवाँर, दुर संजय गुप्ता, बिम्ब अधिकारी गिता सोब एडन बत्री, मारुती सापकोटा, ऋषिकेश बस्याल, निर्भिक भट्टराई, ब्रिन्दा बस्नेत, रेवन चासुमहाङ्ग ताम्ला राई, कृति गजुरेल, सरिता गिरी, शेखर चापागाईं, अरुण पाैडेल लगायतका कलाकारको अभिनय हेर्न सकिनेछ । यस्ता लाइटस्मा धिरज थापा मगर र साउन्डमा मनोज महर्जन रहेका छन् । नाटकको मंगलबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पनि रहनेछ ।

माटो जोगाऔं भन्दै वसन्तपुरमा एकैसाथ ३०० जनाद्वारा नृत्य

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा वसन्तपुरमा भेला भएकाहरूले नृत्य र साङ्गीतिक प्रस्तुति दिएक हुन् । आफूलाई भू-मित्र भन्न रुचाउने समर्थकहरू, शनिबार साँझ वसन्तपुरमा नेपालको झण्डा बोकेर माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौंजस्ता नारासहितका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी थिए । साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए । सो गीत र नृत्य, माटो जोगाऔँ अभियानको लागि रचिएको हो । भू-मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुति दिएका थिए । माटो जोगाऔँ अभियान सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउनु पनि हो । यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्यपूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने कार्यक्रम छ । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ । यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणको लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।