नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । खेलाडी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ यसअघि बेलायत र क्यानडामा प्रदर्शन भइसकेको छ । नेपालमा भने पहिलो पटक फिल्म प्रदर्शनमा आउन लागेको हो । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्शन जनारामा निर्माण गरिएको छ । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बू र मिलन राईले निर्माण गरेका हुन् । एक गोरखा आर्मीको संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रश्तुकर्ता विजया राई हुन् । फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बू, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बू, सीमा राई, नरेन लिम्बू र पूर्ण लिम्बूले अभिनय गरेका छन् । कार्यक्रममा बोल्दै अभिनेता राजकुमार राईले फिल्ममा गोरखाली सेनाले उनीहरुको जीवनमा भोगेका पीडाहरुलाई देखाइएको बताए । उनले नेपालीहरुको कथावस्तुमा निर्माण भएका कारण पनि सबै नेपालीले चलचित्र हेर्नेमा आशावादी रहेको बताए । कार्यक्रममा अभिनेत्री सेसुका राईले क्यानडा र बेलायतमा फिल्म रिजिल भएपनि आफूले फिल्म हर्न नपाएको बताए । नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ नेपालमा भने मंसिर २३ गतेबाट रिलिज हुनेछ ।
चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने
काठमाडौं । नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीबार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । ‘एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको छ, सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको छ, चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएका छन्, नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको छ,’ उनले भने । अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी ४ भोलि (शुक्रबार) बाट चल्नेछ ।
मङ्सिर र पुसमा बढ्दै छन् चलचित्र प्रदर्शनी
काठमाडौं । आसन्न निर्वाचनका लागि उम्मेदवारहरुको प्रचारप्रसार बढेसँगै चलचित्र प्रदर्शनमा भने कमी आइरहेको छ । आम मानिसको ध्यान निर्वाचनमा केन्द्रीत रहेको हुँदा मङ्सिर, पुस र माघमा चलचित्र प्रदर्शनका लागि घोषणा गरिएका थिएनन् । आगामी फागुन ५ गते तीन र १९ गते पाँच चलचित्र प्रदर्शन गरिने घोषणा हुँदासमेत मङ्सिरदेखि माघसम्म प्रदर्शनको मिति खाली थिए तर अहिले विस्तारै ती महिनामा पनि प्रदर्शन गरिने भएका छन्। फागुनपछि प्रदर्शनका लागि सङ्घर्ष गर्नुपर्ने भएपछि अगाबै चलचित्र प्रदर्शन गरिने घोषणा हुन थालेको वितरक करण श्रेष्ठले बताए । ‘निर्वाचन, जाडोको समय र विश्वकप फुटबलले असर गर्ने अनुमानले चलचित्र फागुनमा रिलिज घोषणा भएका छन् । खाली डेट भएकै कारण मेरो एउटा चलचित्रसमेत मङ्सिरमा प्रदर्शन गर्दैछु’, उनले भने,’दर्शकलाई आकर्षित गर्न सकेमा चलचित्रको व्यापार राम्रै हुन्छ । निर्वाचन लगत्तै चलचित्रले एकल प्रदर्शन हुन् पाउनेछन् ।’ मङ्सिरमा चलचित्रको भीडन्त नभए तापनि पुस १५ मा भने तीन चलचित्र प्रदर्शन हुने तयारीमा छन् । मङ्सिरमा मिलन, पासो, डेसान, चोर–पुलिसलगायत चलचित्र प्रदर्शनका लागि घोषणा भइसकेका छन् । पुसमा डिसेम्बर फल्स, कौसिद र ची मुसी ची प्रदर्शन हुने घोषणा गरिएको छ । नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले केही समययता नेपाली चलचित्रले गरिरहेको व्यापारले आश बढाएको बताए । ‘असोज र कात्तिकमै चार नेपाली चलचित्रले घरेलु बजारबाट लगानी उठाएका छन् । दर्शकलाई चाहिने चलचित्र ल्याउने हो भने लगातार चलचित्र चल्छ, उनले भने,’दर्शक आइरहदा उनीहरूको रुचिभन्दा बाहिरको चलचित्र पर्यो भने पुनः हल फर्काउन भने समय लाग्छ ।’ एउटै मितिमा धेरै चलचित्र घोषणा हुँदा असर परिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले स्वीकारे । ‘चलचित्रसँग सम्बन्धित सङ्घ तथा सस्थासँग परामर्श गरेर हामी दीगो समाधान निकाल्ने प्रयासमा छौँ । नीति नियमसँगै आपसी सहमतिका प्रयास पनि भइरहेका छन्’, उनले भने ।