शिवम् सिमेन्ट र षट्कोण आर्टसले सहकार्य गर्ने

काठमाडाैं । शिवम् सिमेन्ट र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र महापुरुषका लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झाैता भएकाे छ । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट, केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । यस्तै षट्कोण आर्टसकाे तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । कात्तिक ११ मा रिलिज हुन गइरहेको उक्त चलचित्रमा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् । शिवम् सिमेन्टले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

‘को–हजबेण्ड’ले जित्यो अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

एटलाण्टा । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवल को अन्तिम दिन भएको अवार्ड समारोहमा ‘को–हजबेण्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो । अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए । ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार, यसपालि ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनौट भएका थिए । यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा पाण्डेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । निर्देशक पाण्डेका अनुसार, ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबल मा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो । विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को–हजबेण्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गरेका हुन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्  । जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् भने संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका हुन् । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

सुरु भयो अर्नाको सङ्ग कन्टेस्ट २०२२, विजेताले १० लाख पाउने

काठमाडौं । यति ब्रुअरीकाे उत्पादन अर्ना बियरकाे सङ्ग कन्टेस्ट २०२२ सुरु भएकाे छ । अर्नाले गत दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएकाे याे प्रतियाेगिता आइतबारबाट सुरु भएकाे हाे । अर्ना सङ्ग कन्टेस्टमा भाग लिन इच्छुकले बनाएको आफ्नाे गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेवसाइटमा पठाउन सक्नेछन् । १० लाख पुरस्कार राशी रहेको यस सङ्ग कन्टेस्टमा भदाै १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ ।