निटफेस्टमा आज श्रीलंका र भारतका नाटक मञ्चन हुँदै
काठमाडौं । यही मङ्सिर ९ गतेदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ मा आज भारत र श्रीलङ्काका दुई नाटक, नाटकको पुस्तक विमोचन र साङ्गितिक प्रस्तुति हुँदैछ । इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को मञ्चन हुँदैछ । छायाँ नाटक र कचहरि नाटकको मिश्रितशैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाइएको छ । नाटकले आघातबारे अन्तक्र्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाँया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्दछ । श्रीलङ्काको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदैछ । ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा होनहार केटा नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन् । पात्रहरुले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकहरुले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ । ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ रु’ शीर्षकमा प्यानल डिसकसन समेत आज हुनेछ । त्यहाँ साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मी विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन् । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको महोत्सवमा छैटौँ दिनको अन्तिम कार्यक्रममा कलाकार हुम विसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको साङ्गितिक प्रस्तुति दिनेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । महोत्सवमा १८ नाटकका २५ मञ्चन तथा, अन्तक्र्रिया कार्यक्रम, कार्यशाला, सेमिनार हुँदैछ ।
महापुरूषुले गर्यो १० करोडको व्यापार
काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो । प्रायः एकवर्षमा दशभन्दा कम फिल्मले हलबाटै मुनाफा कमाउने गरेको तथ्याङ्क छ । यद्यपि यसैवर्ष मङ्सिरसम्म कबड्डी ४, झिँगेदाउ, प्रेम गीत ३, के घर के डेरा, दुई नम्बरी र महापुरूषले हलबाटै मुनाफा कमाएका छन् । आइतबार फिल्म ‘महापुरूष’ युनिटले पत्रकार सम्मेलन गर्दै प्रदर्शनको चौथो साता पूरा गर्दा दश करोड बढी ग्रस कलेक्सन गरेको जानकारी दिएका छन् । ‘हामीले पहिलो साता पाएको शो सङ्ख्यामा खासै परिवर्तन आएको छैन । हामीले पाएको शोहरू मल्टिप्लेक्समा अझैँ भरिभराउ छन्’, निर्माता दीपेश खत्रीले भने, ‘फिल्म हेर्न परिवार नै आइरहनु भएको छ । यसैले फिल्मको व्यापार राम्रो भइरहेको छ ।’ यसवर्ष कबड्डी ४ र प्रेम गीत ३ पछि १० करोड ग्रस गर्ने यो तेस्रो चलचित्र बनेको छ । नेपाली चलचित्रले हलमै यत्तिको व्यवसाय गर्नुलाई ‘ब्लकबस्टर’ मानिन्छ । निर्माता खत्रीका अनुसार फिल्मले पहिलो साता उपत्यका अन्तर्गतको हलमा तीन करोड छ लाख ६५ हजार र उपत्यका बाहिरका हलमा एक करोड पचास लाख १२ हजार, दोस्रो सातामा उपत्यकामा एक करोड ८९ लाख एक हजार र बाहिर ९४ लाख १७ हजार, तेस्रो सातामा उपत्यकामा ९६ लाख तीन हजार र बाहिर ४५ लाख सात हजार तथा चौँथो सातामा उपत्यकामा ८७ लाख सात हजार र मोफसलमा ३९ लाख आठ हजारको व्यापार गरेको छ । ‘फिल्म व्यापारमा केन्द्रित नभइ आफ्नै मौलिक कथा भन्नुपर्छ भन्ने लागेर यो विषयलाई ठूलो पर्दासम्म ल्याएका हौँ । यसले गरेको व्यापारले आगामी दिनमा गहन विषयलाई उठाउन हौसला मिलेको छ’, लेखकसँगै निर्देशकसमेत रहनुभएका प्रदीप भट्टराईले भने, ‘यो एक्लोपनको कथा हो । मैले वा धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू फिल्मले भन्छ ।’ स्वदेशमा मात्र नभइ विदेशमा समेत यो चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । ‘नेपालसँगै अमेरिका, क्यानाडा, अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ, अमेरिकामा यसले ५१औँ दिन मनाउने सम्भावना छ’, कार्यकारी निर्माता बानियाँले भने, ‘व्यापारसँगै नेपाली फिल्मको बजार विस्तारसमेत भइरहेको छ ।’ चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत् पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत् समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ ।
निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया
काठमाडौं । यही मङ्सिर ९ गतेदेखि काठमाडौंमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना भइरहेको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नारा दिइएको महोत्सवमा आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’ र रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भयो । क्याटी बेक निर्देशित अङ्ग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेख्नुभएको हो । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात शरणार्थीका रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत गरिएको छ । यस्तै मञ्चन भएको दोस्रो नाटक कोन्द्रातोएभा क्रिष्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ थियो । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो । आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत गरे । नाटकको चौँथो दिन आज भने दुई नेपाली प्रस्तुति मञ्चनसँगै कार्यशाला तथा प्यानल डिसकसन हुँदैछ । केही महिनाअघि मञ्चन भएको नाटक ‘खुवालुङ’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ । नाटकसँगै ‘कला तथा रङ्गमञ्चमा अपाङ्गता भएकाको समावेशीकरण’ विषयक कार्यशाला र ‘काठमाडौँबाहिर नेपाली रङ्गमञ्चको चुनौती’ विषयमा प्यानल डिसकसन हुँदैछ । यसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तक्र्रिया गर्नेछन् । मङ्सिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् ।