खुकुरी रमको प्रायोजनमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’को प्रिमियर शो सम्पन्न

काठमाडौं । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । खुकुरी रम प्रिमियर शोको प्रायोजक रहेको थियो । खुकुरी रमकै प्रायोजकत्वमा यो फिल्मको थप प्रिमियर शो पोखरामा सोमबार हुँदैछ भने धरानमा आगामी बुधबार गर्ने कार्यक्रम रहेको छ । निर्माण पक्षका अनुसार ‘गोर्खा : बिनिथ द ब्रेभरी’ च्यारिटी मुभी हो । यो मुभीको शोहरुबाट प्राप्त आम्दानी गोर्खा वेलफेयर ट्रस्टलाई प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ । खुकुरी रम प्रमोसनल पार्टनरको रुपमा रहेको यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शनमा आउनेछ । यो चलचित्रमा थापाले जर्मनसँगको युद्धमा बहादुरीका साथ घाइते सैनिक उद्धार गरेको कथा प्रस्तुत गरिएको छ । सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलिपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । यही कथा चलचित्रमा देख्न पाइन्छ । काठमाडाैंको विशेष शोमा उपस्थित निर्देशक प्रदीप शाहीले आफ्नो कथा आफैँले भन्ने कोशिस गरेको बताए । जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्दाञ्जली दिन फिल्म निर्माण गरेको उनको भनाइ थियो । काठमाडाैंमा भएको ‘शो’मा कुलवीर थापाका छोरा, बुहारी तथा नातिहरु उपस्थित थिए । शोमा सहभागिता जनाउन बेलायतदेखि कलाकारहरु समिर गुरुङ, गौमाया गुरुङ र स्टुअर्ट वाल्कर नेपाल आएका थिए । चलचित्रमा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर फिल्म बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा विनोद सुवेदी खत्री कार्यकारी निर्माताको रुपमा छन् भने निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायाङ्कन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ । नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको युके, अमेरिका, ब्रूनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ भएको थियो । नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

बोर्डले शोज दिने होइन नीति निर्माण गर्ने हो भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन् । शुक्रवार सम्हाल्निछ कहिले मनको प्रिमियर शोज हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताए । उनले चलचित्रि विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नुबुझ्न आग्रह गरे । केसीले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रुपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए । उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए । उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह गरे । उनले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताए । उनले भने, ‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन् । बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो । कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ । प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ ।’

झिङ्गेदाउ’ फिल्म भदौ १७ गतेदेखि प्रदर्शनीमा आउने

काठमाडौं । चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ । कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो । चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । ‘ चलचित्रमा नायकको भूमिका नै नायिकाले गरेकि छिन्’, कलाकार मिथिला शर्माले भनिन्। त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक हुनुभएको थियो । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भनिन् । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताएका छन् । निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेका यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए । रासस