यी हुन् विवाहपछि झन् अब्बल बनेका अभिनेत्री
काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ । तर, अभिनेत्रीहरू भने करिअर निर्माणमै बढी समय खिर्चिने हुँदा विवाह ढिला गर्छन् । नेपाली ग्ल्यामर क्षेत्रमा केही त्यस्ता चर्चित अभिनेत्रीहरु छन्, जसले विवाह पश्चात करिअरलाई उचाइमा लगे । बिहे गरेपछि ‘फ्यान फलोइङ’ घट्छ, अझ सन्तान जन्मिएपछि त फिल्मी करिअर नै समाप्त हुन्छ भन्ने बुझाइ ग्यामलर क्षेत्रमा पाइन्छ । यद्दपि नेपाली फिल्ममा बिहेपछि नै अभिनय करिअर सुरु गरेर सफलता चुमेका थुप्रै उदाहरण छन् । सदाबहार अभिनेत्रीको ट्याग पाउनु भएकी अभिनेत्री करिश्मा मानन्धरले अभिनय यात्रामा सफलता विवाह पश्चात प्राप्त गरेकी हुन् । कस्तुरी फिल्मको सुटिङका क्रममा सोही फिल्मका निर्माता विनोद मानन्धरसँग उनको विवाह भएको थियो । बिस.२०४६ मा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री मानन्धर एक छोरीकी आमासमेत हुन् । यद्दपि फिल्म, विज्ञापन, म्युजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ । उनले फिल्ममा प्राप्त गरेको सफलता विवाह पश्चातनै हो । उनले अभिनय गरेको फिल्म ‘बगान’ आउँदो फागुनमा प्रदर्शन हुँदैछ । २०५२ सालमा निर्माण भएको ‘दाइजो’ फिल्ममा छोटो भूमिकामा देखिएकी अभिनेत्री झरना थापा २०५५ सालमा आफैले निर्माण गरेको ‘धर्मसङ्कट’ बाट स्थापित भइन् । यो फिल्ममा उनको पति सुनिलकुमार थापाले निर्माण गरेका थिए । उनी होम प्रोडक्सनकै फिल्ममार्फत स्थापित भएकी हुन् । ‘मेरो करिअरमा ‘ए मेरो हजुरको महत्व छ । यहीँ फिल्ममा अभिनय गरेपछि मैले करिअरमा नयाँ उचाइ पाएँ । यहीँ नामको फिल्ममार्फत निर्देशनमासमेत मेरो उदय भयो’, अभिनेत्री थापाले भनिन्,’मलाई आमा हुँदा करिअरमा कुनै असर गरेन् । मैले छोरीलाई समय दिन सकिन भन्ने चाही लाग्थ्यो ।’ रेखा थापाले विवाह पश्चात अभिनय प्राप्त गरेकाे सफलता उदाहरणीय नै छ । सञ्चिता लुइँटेल, प्रियङका कार्की, केकी अधिकारी, वर्षा राउत, स्वस्तिमा खड्का, आँचल शर्मा विवाह पश्चात अभिनयमा झनै सक्रिय नै छन् । ‘विवाह पश्चात झनै स्वतन्त्र महसुस हुन्छ । विवाह अगाडि घरबाट साथ भए पनि समाजको बुझाइमा फरक हुने रहेछ । श्रीमान्को साथले करिअरलाई अगाडि बढाउन मद्दत गरिरहेको छ । म छोरी र बुहारीलाई सन्तुलन गरेर अभिनय यात्रामा छु,’अभिनेत्री शर्माले भनिन्,’अभिनेत्रीले अभिनय गर्न सक्दासम्म अन्य पक्षले असर गर्छ जस्तो लाग्दैन् ।’ उनले अभिनय गरेको फिल्म ‘झिँगेदाउ’ यसवर्षको सुपरहिट फिल्ममा सामेल भइसकेको छ ।
दश दिनमा ‘महापुरुष’ले कमायो ६ करोड रुपैयाँ
काठमाडाैं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले घरेलु बक्स अफिसमा एकदमै राम्राे कमाइ गरिरहेकाे छ । निर्माताकाे अनुसार फिल्मले दश दिनमा साढे ६ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरिसकेकाे छ । फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । तयस्तै, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीलगायतको पनि अभिनय रहेको छ । षट्कोण आर्टस्को ब्यानरमा निर्माण भए यस फिल्मकाे निर्देशक प्रदिप भट्टराई रहेका छन् । याे उनकाे चौथो फिल्म हो । फिल्मको कथालाई उनले नै लेखेका छन् ।
‘मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’
काठामाडौं । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् । लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको निधनपछि करिब एक वर्ष सक्रिय जीवन बिताएनन् । अर्थात्, करिब उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग दोस्रो विवाहपछि भने उनी पुरानै लयमा फर्किएका छन् । काममा उसैगरी जोश र जाँगरका साथ काम गरिरहेको उनको भनाइ छ । मह सञ्चारबाहेकका प्रोजेक्टमा निकै कमै देखिने आचार्य अभिनित पछिल्लो चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ र यसले दर्शकहरुबाट सकारातमक प्रतिक्रिया समेत पाइरहेको छ । ‘महापुरुष’ चलचित्र एकलपुरुषको कथामा आधारित छ । कथाका केही प्रसङ्गहरु आचार्यको जीवनसँग पनि मेल खान्छ । ‘मेरो दोस्रो विवाह हुने प्रसङ्गबाहेक फिल्मको कथा फरक छ । एक्लोपनले निम्त्याउने समस्या भने मिल्न सक्छ’, उनले भने, ‘वास्तविक जीवनमा मेरो सन्तानले नै दोस्रो विवाहप्रति देखाएको सद्भाव मेरो लागि प्रेरणा बन्यो ।’ सन्तानले पनि आफ्नो अभिभावकको इच्छा बुझे अभिभावक सुखीसँगै खुसी रहन सक्ने उनको भनाइ छ । आचार्यले एक्लोपनले जीवनमा समस्या ल्याउने र आफू पनि शोकमा हुँदा झन्डै एक वर्ष काम गर्न नसकेको बताउँछन् । ‘तर अहिले मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो’, अभिनेता आचार्यले भने, ‘उनको साथ र सहयोगले नै म अहिले सक्रियतापूर्वक काम गर्न सकेको छु ।’ महापुरुष चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफूले दोस्रो विवाहको समय स्मरण गरेको उनले बताए । “दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ । आफ्नो खुसी हेर्ने हो कि सामाजिक प्रतिष्ठा भन्ने प्रश्नले द्विविधा उत्पन्न गराउँछ”, उनले भने, “यो द्विविधामा म मात्रै होइन अन्यमा पनि रहेको पाएँ ।” अभिनेता आचार्य प्रायः कार्यक्रममा श्रीमतिसँगै पुग्छन् । उनी हालै मात्रै सपत्नी संयुक्तराज्य श्रीमतिसँगै अमेरिका पुगेका छन् । महापुरुष चलचित्रमा उनले दुई छोराको पिताको भूमिका निभाउनु भएको छ । कान्छो छोराको विवाहको तयारी हुँदै गर्दा आफै प्रेममा परेपछि आउने परिस्थितिलाई मुख्य कथा बनाइएको छ । परिवारसँगै हुँदा पनि सन्तानले समय नदिँदा बुबाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा उठान गरिएको छ । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शीर्षक छनोटपछि हरिवंश आचार्य बोहक अरु कलाकारलाई उक्त भूमिका दिन नसकिएको बताए । चलचित्रमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारको अभिनय छ ।