फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिए । ‘युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्’, सञ्चालक अग्रवालले भने,’साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।’ उनले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताए । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पुर्याउने सञ्चालक अग्रवालको तयारी छ । ‘अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ’, उनले भने । आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताए । ‘हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ’, उनले भने । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक, वार्षिक पाँच सय डलर खर्च

काठमाडौं । ओटिटी ओभर द टप प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय डलरसम्म वार्षिकरुपमा खर्च गर्न मिल्नेगरी कार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढे्दै आएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाए पछि बन्द नै भए । नेपालमा सन् २०१५ देखि सुरू भएको एप सिनेमाघरका प्र्रमुख कार्यकारी अधिकृत सागर खरेलले नेपाली दर्शकलाई युट्युबमा निःशुल्क कन्टेन हेर्ने बानी लागेकाले डिजिटल प्लेटफर्मको विकास नहुन सकेको बताए । ‘हामीले सुरुआती समयमा चलचित्रको अधिकार लिएर निःशुल्करुपमै एपमा देखाउने गरेका थियौँ । दर्शकलाई फिल्म हेर्ने बानी बसेपछि न्यूनतम शुल्क लिन थालेका हौँ’, उनले भने, ‘अहिले यसको सुरक्षा प्रणाली चुस्त बनाउनाका साथै दर्शकले खोजिरहेको चलचित्र ल्याउने तयारीमा छौँ ।’ सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास भइरहेको बताए । ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनको तयारी हामीले गरिरहेका छौँ । दर्शकको आकर्षण बढ्दै गएपछि हामीले पनि कन्टेन बढाउँन थालेका हौँ’, उनले भने । गत कात्तिक २४ मा एपमा रिलिज भएको ‘कबड्डी ४ : द फाइनल म्याच’ ले प्रयोगकर्ता बढाउनाका साथै एक्टिभ पनि गरिएको प्रमुख कार्यकारी अधिकृत खरेलले बताए । ‘हाम्रो ५० हजारभन्दा बढी प्रयोगकर्ता बढेको छ भने सक्रिय हुनेको सङ्ख्या धेरै भएर सर्भर नै क्याससमेत भएको थियो । यो फिल्मको आम्दानी कुनै युट्युबले दिनेभन्दा बढी छ । कुनै समय एक सय दर्शक नपाइने एपमा केही समययता दैनिक एक हजारको हाराहारीमा फिल्म हेरिरहेका छन्’, उनले भने । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम रहेको बताए । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको उनको भनाइ थियो । ‘हामीले पाइरेसी रोक्ने अनेक सुरक्षा अपनाएका हुन्छौँ तर पाइरेसी गर्नेलाई कडा कारवाही नभएसम्म कन्टेन सुरक्षित हुदैनन’, सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको टोलीले ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शक माँझ पुर्याइरहेको छ । अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको र पाइरेसी गर्नेलाई सहजै पत्ता लगाउन सकिने बताए । ‘पाइरेसीसम्बन्धी शिक्षाको कमिले नै यस्तो भइरहेको छ । पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ’, उनले भने । डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्डले नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गरिरहेको सदस्य फडिन्द्र कटवालले बताए । ‘कबड्डी ४ : द फाइनल म्याच’ ले गरेको कमाइको विवरण र अन्य केही नयाँ फिल्म रिलिजबारे छिट्टै जानकारी गराउने सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत खरेलले जानकारी दिए ।

चुनावको ह्याङ रिफ्रेस गर्न गगन थापा छिरे फिल्म हल, चुनाव जित्नेमा ढुक्क

काठमाडौं । मतगणना जारी रहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा फिल्म हेर्न पुगेका छन् । उनी चुनावको ह्याङलाई रिफ्रेस गर्न सिनेमा हेर्न पुगेका हुन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् । उनी श्रीमतीसहित दरबारमार्गस्थित क्यूएफएक्स दरबार मलमा दिउँसो साढे २ बजेको शोमा फिल्म हेर्न पुगेका हुन् । उनले अहिलेसम्म अग्रता कायमै गरेका छन् । उनललाई नेकपा एमालेका उम्मेदवार राजन भट्टराई पछ्याइरहेका छन् ।