‘महापुरुष’ एक्काउनौँ दिनमा
काठमाडौं । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ । कोरोना महामारीपश्चात् हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ : द फाइनल म्याच’ पश्चात् यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई सफलताले दायित्व बोध बढेको बताउँछन् । ‘दर्शकको साथले थप ऊर्जा मिलेको छ’, उनले भने। नेपाल मात्र नभई अमेरिकामा समेत आठौँ हप्तामा चलचित्र प्रदर्शन भइरहेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियबजारमा विस्तार गर्न मद्दत पुगेको निर्देशक भट्टराईको भनाइ छ । उनले यस अगाडि निर्देशन गर्नुभएको जात्रा, शत्रु गते र जात्रै जात्रा चलचित्रले समेत ५१औँ दिन पार गरेको थियो । ‘मह सञ्चार’सँग डेढ दशकसम्म टेलीचलचित्रमा सहायक भएर सहकार्य गरेपछि निर्देशक बन्नुभएका भट्टराईले सफलताको श्रेय मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नै दिन्छन् । ‘उहाँहरूबाट नै सिकेर निर्देशन गर्न पाएको छु । स्कुल पढेर दिएको परीक्षामा पास भए झैँ महसुस भएको छ’, उनले भने । अमेरिका भ्रमण सकेर नेपाल फर्किनुभएका अभिनेता आचार्यले निर्देशक भट्टराई सुरुआती दिनदेखि नै प्रतिभावान् रहेको बताए । ‘टेलीचलचित्र हामीले उहाँलाई जिम्मा लागाउँथ्यौँ । उहाँको कामले हाम्रो मन जितिसकेको थियो । आज चलचित्रमा समेत सफल हुँदा खुसी लाग्छ’, अभिनेता आचार्यले भने । चलचित्रमा मह जोडीसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको महापुरुष गत डिसेम्बर १ तारिखदेखि कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन भइरहेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्र महापुरुषको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ र निर्माता दीपेश खत्री रहेका छन्। चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारका रुपमा डेब्यु गरेका छन् ।
किड्स डान्स, र्याप र डेटिङ रियालिटी शो आउँदै, तीन वटा रियालिटी शो एकसाथ घोषणा
काठमाडौं । स्पेस फोर के टेलिभिजनले एकसाथतीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँचतारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटी शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिपलामा, बलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन् । कार्यक्रममा स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले नेपाली समाजमा लुकेर रहेका प्रतिभा क्षमताहरुलाई अन्वेषण गर्ने र त्यस्ता क्षमताहरुलाई स्थापित गरेर देशमा सकारात्मक सन्देश फैलाउन रियालिटी शोहरु ल्याइएको बताए ।तीन वटै रियालिटी शोका बारेमा पक्कै पनि विभिन्न कोणबाट चर्चा हुनसक्ने उल्लेख गर्दै उनले यीशो मनोरन्जन र सन्देशमूलक दुबै हुने बताए । आजको विकसित समाज धेरै खुल्ला र अगाडि बढिसकेको उदाहरण दिँदै उनले नेपाली समाजभने अझै संकिर्ण र रुढिगत रहेको टिप्पणी गरे । कार्यक्रममा जस्ट डान्स लिटिल मास्टरर्सका निर्णायक तथा नायिका सञ्चिता लुइटेलले बच्चाहरुको बालमनोविज्ञानमा आधारित भएर बालबालिकाहरुमा रहेको क्षमतालाई प्रष्फुटन गर्न यो शोले महत्वपूर्ण योगदान गर्ने बताइन् । उनले बालबालिकाहरु काचो माटो भएको र उनीहरुमा भरपूर सिर्जनात्मकता हुने बताइन् । त्यो क्षमतालाई यो शो ले राम्रो एक्सपोजर दिने बताइन् । त्यसैगरी र्याप स्टारका निर्णायक तथा चर्चित र्यापर गिरिश खतिवडाले नेपाली समाजमा र्यापलाई हेर्ने दृष्टिकोण फरक भएपनि र्याप विधाले समाजको चित्रण गर्ने बताए । पे्रमिल जोडीहरुमा आधारित भएर निर्माण गरिएको डेटिङ रियालिटि शो फस्ट डेटले दर्शकहरुलाई मनोरञ्जन दिनुका साथै सपरिवार हेर्न मिल्ने गरी सभ्य तरिकाले निर्माण गरिने सर्जक रेमन्ड दास श्रेष्ठले बताए । डेटिङ रियालिटि सो फस्ट डेट फागुन महिनामा, त्यसैगरी डान्स रियालिटि सो जस्ट डान्स लीटिल मास्टर्स आउँदो बैशाख र सिङ्गिङ रियालिटि सो र्याप स्टार पुस महिनादेखि स्पेस फोर के टेलिभिजनबाट प्रसारण हुनेछन् ।
‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु
काठमाडौं । फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । ‘डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ’, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार विपिन कार्की र केकी अधिकारीले दिए । उनी दुई फिल्ममा श्रीमान् तथा श्रीमतीको भूमिकामा छन् । एस।जी। फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सुदर्शन बस्नेतले निर्माण गर्दै छन् । निर्देशक थापाको निर्देशनमा तयार हुने फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ । यसमा राजेश श्रेष्ठको छायाङ्कन, उत्तम न्यौपानेको ध्वनि, राजनराज सिवाकोटीको सङ्गीत रहनेछ । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । ‘प्रसाद’ हिट भएपछि यसको सिक्वेलका रूपमा ‘प्रसाद २’ को निर्माण हुन लागेको हो । लेखक पौडेलले फिल्मको कथा अभिनेता कार्की र अभिनेत्री अधिकारीमा केन्द्रीत रहने बताए । ‘दुईको प्रेम र त्यसले निम्त्याउने सङ्घर्षलाई फिल्ममा देखाइनेछ’, लेखक पौडेलले भने ।