भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने
काठमाडौं। स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ सहित आयोजना गरेको ‘स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २०० जना सहभागी हुने भएका छन् । मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए । गायक रामकृष्ण ढकाल सहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । मंसिर २२ गते विहान काठमाडाैंमा उद्घाटन गरेर भुजुङकाे यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँकाे हाेमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीकाे मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।
सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२ को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो । । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु । मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ । ‘ मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने उनले जानकारी दिए । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो । समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीको सहभागिता रहेको थियो । महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रङ्गमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताइन् । समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन भएको थियो ।
नेपाल फिल्म सोसाइटी द्वारा प्रदेस सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान
काठमाडौं । नेपाल फिल्म सोसाइटी द्वारा भर्खरै निर्वाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि बिजय भएका माननीय मदु कुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख) बाट निर्बाचित भएका माननीय सरोज थापा (रोज राणा) लाइ बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ। उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिबर्तन नेपालका अध्यक्ष मोहन निरौला, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसी लगायत नेपाल फिल्म सोसाइटीका सदस्यहरु, कलाकारहरु र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। नवनिर्वाचित प्रदेश सांसद नायक निर्माता माननीय मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए । ‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे । ‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’ त्यस्तै अर्का चलचित्रकर्मी तथा नव निर्वाचित प्रदेश सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताएका छन् । ‘म प्रदेश सांसद हो। हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’ सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए । ‘चलचित्रको नीति बनाउने केन्द्रीय तहमा मेरो प्रतिनिधित्व छैन’ राणाले थपे– ‘सोही कारण पनि हामीले धेरै काम गर्न नसक्ने हुनसक्छ । यो सबैले मनन गर्नुपर्ने हुन्छ । सकेको सहयोग भने गर्नेछु ।’ कार्यक्रममा बोल्दै नेपाल फिल्म सोसाइटीका अध्यक्ष बरिष्ठ चलचित्रकर्मी कृष्ण मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले सांसदले चलचित्र क्षेत्रको समस्याको बिषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राखे। उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटी युकेका महासचिब बरिष्ठ गीतकार, चलचित्रकर्मी हिराकाजी थापालाइ समेत स्वागत सम्मान गरिएको थियो।