भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दीप श्रेष्ठ र शक्ति बल्लभलाई
काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफर संगित क्षेत्रकाे दुई व्यक्तिलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ प्रदान गरेकाे छ । सिटी एक्सप्रेसले भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आइतबार उक्त सम्मान गरेकाे हाे । कम्पनीले गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार ५० हजारसहित उक्त सम्मान प्रदान गरेकाे छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको थियाे । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो । भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।
चलचित्र ‘जारी’ले २१ दिनमा गर्यो १५ करोडभन्दा बढीको व्यापार
काठमाडौं । चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छ । यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’ कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ ले १५ करोडभन्दा बढीको व्यापार गरेको छ । शुक्रबार र शनिबार हुने व्यापारको सङ्केतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ । वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाईं नभन्नु ल ६’ को सो सङ्ख्या घट्नाका साथै दर्शक पनि घटेका छन् । प्रदर्शनको एक साता पार गर्दा ‘नाईं नभन्नु ल ६’ ले २५ लाख र ‘प्रसाद २’ ले ७० लाखको व्यापार गर्न सफल भएको छ । उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन् । यस्तै वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ ले दुई दिनमा २० लाखको हाराहारीका व्यापार गरेको छ । नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको व्यापारले स्पष्ट पारेको छ । चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’ को व्यापारलाई पुष्टि गरे। जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अङ्क अझै बढ्ने देखिन्छ, अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ’, बोर्डका सदस्य अधिकारीले भने ।
नेपालमा ओटिटी : विदेशीमै छन् दर्शक
काठमाडौं । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटिटी (ओभर द टप)प्रतिको आकर्षण बढ्यो । ओटिटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्य रुपमा बढे। सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए । तर विदेशी एपमा दर्शक झुमिँदा सोही प्रकृतिका नेपाली एपहरु आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले दर्शक पाएनन् । नेपाल राष्ट्र बैंकले वार्षिक पाँच सय डलरसम्म खर्च गर्न मिल्नेगरी डलरकार्ड उपलब्ध गराए पनि विदेशी एपमै दर्शक बढ्दै गएका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपछि बन्द नै भए । नेपालमा सन् २०१६ देखि सुरू भएको एप सिनेमा घरले सब्सक्रिप्सनको सुविधा हटाएर फिल्मअनुसार भुक्तानी गरेर हेर्न मिल्ने बनाएको कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले जानकारी दिए । अभिनेता, निर्माता, लेखकसँगै चलचित्र ‘पानीफोटो’मार्फत् निर्देशक बनेका लामिछाने सिनेमाघर एपसँग सन् २०१८ मा जोडिनु भएको थियो । ‘नयाँ सामग्री आउँदा दर्शक बढ्छन्, अन्य समयमा पनि थपघट भइरहन्छ’ उनले भने, ‘अब भने आफ्नै कन्टेन्ट ल्याउनेमा हामी छौँ ।’ यद्यपि त्यसको सूचिगत प्रक्रिया पूरा नहुँदासम्म आँट गर्न नसकेको उनको भनाइ छ । उनका अनुसार वार्षिक पात्रो बनाएर मात्र आफ्नै ‘कन्टेन्ट’ ल्याइने छ । यसरी तयारी गर्दा कुनै एक ‘कन्टेन्ट’ असफल हुँदा अन्यले दर्शकलाई ‘होल्ड’ गर्न सकिने उनको भनाइ छ । आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसक्नु भएका ओमप्रकाश अग्रवालले भने पाइरेसीको समस्याले ओटिटीमा चलचित्र राख्न जोखिम रहेको बताए । ‘पाइरेसी गर्नेलाई कडा कारबाही नभएसम्म कन्टेन्ट सुरक्षित हुँदैनन् । यससम्बन्धी साक्षरता बढाउनु आवश्य छ’, उनले भने, ‘एप ल्याएर मात्र हुँदैन त्यसलाई दर्शकसम्म पु¥याउन हामीले आवश्यकपर्ने सामग्री सञ्चित गरिरहेका छौँ ।’ उनले पाइरेसीसम्बन्धी शिक्षाको कमीले यस्तो भइरहेको बताए । उनले भने, ‘पक्राउ परेपछि ख्यालख्यालमै चलचित्र पाइरेसी गरिएको भन्ने सुनिन्छ । यससम्बन्धी चेतना फैल्याउनुपर्छ । किनकी अहिले चलचित्र भवनबाट समेत खिचिएका दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।’ स्वदेशी आफ्नै सामग्री नहुँदा दर्शकको आकर्षण बढ्न सकेको छैन । अभिनेता अर्पण थापाले निर्माण प्रक्रियामा सानो वा ठूलो पर्दा भनेर विभेद नगर्न हुने बताए । ‘हामीले शृङ्खला तयार गरिरेका छौँ भने पनि चलचित्र झैँ मेहनत गर्नुपर्छ । शृङ्खला भनेर मेहनतमा कमि भयो भने त्यसको नतिजा राम्रो आउँदैन’, अभिनेता थापाले भने , ‘मैले भर्खरै एउटा शृङ्खलामा अभिनय गरेको छु । विस्तारै हामी कहाँ पनि ओटिटीलाई लक्षित गरी काम गर्नेछौँ।’ रासस