पुल्चोक म्युजिक फेस्टमा द एलिमेन्ट्स र पहेलो बत्ती मुनीको प्रस्तुति

काठमाडौं । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले म्युजिक फेस्ट आयोजना गर्न लागेको छ । आगामी शुक्रबार पूल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमा म्युजिक फेस्ट आयोजना गर्न लागिएको हो । पुल्चोकमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरुले गठन गरेको म्युजिक क्लब तथा रिसर्च सेन्टरले सोही क्याम्पसका विद्यार्थी र अन्य व्यक्तिहरुको सहभागीता हुने गरी म्युजिक फेस्ट आयोजना गर्न लागेका हुन् । पुल्चोक म्युजिक फेस्टमा सांगीतिक समूह द एलिमेन्ट्स, पहेलो बत्ती मुनी लगायतले सांगीतिक प्रस्तुती गर्नेछन् । उक्त सांगीतिक कार्यक्रममा सहभागी हुनका लागि तीन प्रकारका टिकटको व्यवस्था गरिएको आयोजकले बताएको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पस अध्ययनरत विद्यार्थीका १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने क्याम्पस बाहिरका तर, सुरूमै टिकट लिनेहरुले २५० र सामान्य टिकटको मूल्य ३०० रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम शुक्रबार दिउँसो १ बजेपछि सुरु भएर राती ९ बजेसम्म चल्ने बताइएको छ । सांगीतिक ब्याण्डका अलवा कार्यक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पससहित अन्य विभिन्न क्याम्पसका विद्यार्थीहरुको पनि प्रस्तुती रहने बताइएको छ । पुल्चोक म्युजिक क्लब तथा रिसर्च सेन्टरले विगतमा पनि विभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छिन् । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन् । उनले भनिन्, ‘एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।’ उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको बताइन् । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो । अभिनेत्री खड्काले भनिन्, ‘मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।’ निर्देशक कृषा चौलागाईँले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको बताइन् । उनले भनिन्, ‘म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिए । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।’ केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीले कथा, पुरुषोत्तम प्रधानले छायाँङ्कन, कविराज गहतराजले नृत्य निर्देशन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत, रेनिश फागोले रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रासस

डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे अब निशुल्क हेर्न पाईने

काठमाडौं । डिशहोम गो एपमा प्रेम गीत ३ र चिसो मान्छे निशुल्क हेर्न पाईने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ र सामाजिक कथामा आधारित चलचित्र ‘चिसो मान्छे’ अब डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिने कम्पनीले जनाएको छ । गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ । साथै, गोल्भ डट डिसहोम डट कम एनपीमा लगइन गरेर ल्यापटप तथा कमप्युटर मा समेत चलाउन सकिन्छ भने एनरोइड टिभिको एप स्टोरमा गएर गो एप डाउनलोड गरेर टिभिमा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सकुल्सीप कन्टेन्टहरु पनि उपलव्ध रहेको छ ।