कलाकार सङ्घको अध्यक्षमा निरौला विजयी

काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । ‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ, आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु, मैले घोषणा गरेका अधिकांश काम गर्नेछु, कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु,’ नवनिर्वाचित अध्यक्ष निरौलाले भन्ने । उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्धवप्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ मत प्राप्त गरेर विजयी भएका हुन् । झन्डै ७ सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो ।

छैटौं निफमा ‘हेर्दा हेर्दै कहाँ पुगियो’ माथि छलफल

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन आज ‘हेर्दा हेर्दै कहाँ पुगियो’विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्माता तथा प्रदर्शक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी थिए । नेपाली फिल्म पहिला र अहिले विषयक छलफलमा दर्शकको सोचलाई केन्द्रमा राखेर डेढ घण्टासम्म सेसन चलेको थियो । सेसनको संयोजन मुभी लभर्सले गरेको थियो । सेसनमा कस्ले के भने ? अशोक शर्मा – पहिला थोरै फिल्म बन्थे । त्यसबेला कोही स्टार पनि थिएन । अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन् । त्यसकारण सायद दर्शकले पनि स्टारहरुको अपेक्षा गर्छन् । – पहिला आफ्नो प्रतिभा देखाउन फिल्म खेल्नु पर्थो । टेलिफिल्म खेल्नु पर्थो । अहिले आफ्नै फोनका माध्यमबाट आफ्नो प्रतिभा संसारकालागि रिलिज गर्न पाईन्छ । जस्तो टिकटक । – पहिला दर्शक र स्टारहरुको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरुमा मात्र हुन्थ्यो । अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ । कुनै न कुनै माध्यमले सम्पर्क गर्छ । – स्टार भनेको धेरै हलुका हुनुहुँदैन । त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनु हुँदैन । – हिजो जे जस्ता फिल्म बनेपनि अव भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा पुर्याउने उद्धेश्य राख्नु पर्छ । स्वस्तिमा खड्का –पहिला सबैकुरामा अपसन कम थियो । अहिले अपसन धेरै छ । आफ्नो कुरा भन्नकालागि मुभी नै खेल्नु पर्छ भन्ने छैन । –अहिले ३ सय मुभी एउटै खाले बन्छन् । र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अफ्टेरो परेको हो । तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् नै । –नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युवमा प्रसस्तै भिवर्श छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो । –पहिला सिनेमा हल किफायती थिए । अहिले फिल्म हल महंगा छन् । त्यसकारण युट्युव रिलिज पर्खिनु पर्ने अवस्थामा दर्शक पुगेको देखिन्छ । –फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको जस्तो मलाई लाग्छ । त्यही कारण धेरै फिल्म असफल हुने गरेका छन् । कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिदैन । किनभने उनीहरुले मेकरसँगै त्यो फिल्म हेरिसकेको हुन्छ । –हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्याउने हो भने हाम्रै लोकल कथालाई टिप्नु पर्छ । सुजित बिडारी, निर्देशक –फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ मलाई । आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाईने हुनाले मान्छेमा क्रेज रहेको हो । र, रहिरहन्छ पनि । अनि सिनेमा हलको पनि क्रेज सकिदैन । किनभने मोवाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् । – नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो । त्यसवाहेक कमै कुरा सिकेको छु । – फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दिपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् । तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन् । – मेकरले आफ्नो रुट बनाउनु पर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न सकिदैन ।

अनमोल केसीले पर्वतको कुश्मामा गरे बन्जी जम्प र स्काई साइक्लिङ

पर्वत । नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी जम्प गर्न कुश्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए । ‘केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो’, उनले भने । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्, अध्यक्ष राजु थप्छन्, ‘सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।’