सय दिनमा प्रदर्शन हुँदै चलचित्र ‘जारी’
काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौँ उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए। ‘सय दिन पूरा गर्ने चलचित्र बन्यो । अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो । पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए’, उनले भने । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरे। उनले भने, ‘महिला आँटिला र साहसिला हुन्छन् । स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन् । उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु ।’ चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।
कान्तिपुर टेलिभिजनद्वारा सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम बन्द
काठमाडौं । कान्तिपुर टेलिभिजनमा सन्दीप क्षेत्रीले प्रस्तुत गर्दै आएको ‘ह्वाट द फ्लप’ कार्यक्रम रोकिएको छ । महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण रोकिएको टेलिभिजनले बिहीबार सूचना जारी गर्दै बताएको छ । गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले लिएको अन्तर्वार्ता विवादास्पद बनेको थियो । उक्त अन्तर्वार्ताको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत् व्यापक आलोचना भएको थियो । त्यसपछि टेलिभिजनले उक्त कार्यक्रमलाई युट्युवबाट पनि हटाएको थियो ।
डिशहोममा नयाँ २१ वटा फिल्मको मेला
काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक सफल ‘सुपरहिट’ नेपाली चलचित्र, डिशहोममा प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले डिशहोममार्फत सपरिवार यस्ता फिल्महरु हेर्नसक्ने डिश मिडिया नेटवर्कले जनाएको छ । प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, भिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघरको साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिने जनाइएको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा रु ३२५ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा रु दुई हजार वा सो भन्दा माथिको रिचार्जमा रु ६५० बराबरको दुई वटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा रु १३ सय बराबरको ४ वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नम्बर १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।