हाम्रै कथा र व्यथा हो नीरफूल : निर्देशक वल

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान पाउन थालेको छ । क्षेत्रीय चलचित्रको रूपमा मात्र सीमित हुने ती कथाले अहिले मूलधारमा प्रवेश पाएका छन् । अर्थात परिचित अनुहारले ती कथालाई धेरै दर्शकसम्म पुर्याएका छन् । यसको राम्रो उदाहरण बनेको छ, लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘जारी’ । यो चलचित्रले प्रदर्शनको एकाउन्न दिन पार गर्दै व्यावसायिक रुपमा सफल भएको छ । आउँदो जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । उक्त समुदायमार्फत कथा वाचन गरिएको भएता पनि यो जनजातिको मात्र कथा नरहेको चलचित्रका निर्देशक फूलमान वलले जानकारी दिए । यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘चरित्रहरू तामाङ समुदायको भए पनि यसमा तामाङ संस्कृति मात्र देखाउने उद्देश्य होइन । कथा उत्पत्ति भएको ठाउँ तामाङ समुदाय हो तर यो परिवारको बिछोड र मिलनको कथा हो । यो कथालाई हरेक समुदायको मानिसले महसुस गर्न सक्नुहुन्छ ।’ समीक्षक हुँदै निर्देशकसम्मको यात्रा तय गर्दा कमीकमजोरीलाई बुझ्न मदत पुगेको निर्देशक वलले बताए । दुई दशक लामो पत्रकारिता यात्रापश्चात् निर्देशनमा उदाउदै गरेका उनले यो यात्रा समीक्षक भएकै कारण सम्भव बताए । ‘समीक्षक रहँदा अन्य चलचित्रमा देखिएको कमीकमजोरीलाई केही हदसम्म बुझ्ने मौका पाएको थिएँ । सकभर त्यो गल्ती नगर्ने कोसिस गरेको छु’, निर्देशक वलले भने, ‘नेपाली चलचित्रमा खोजिएको नयाँपन यसमा हुन् सक्छ । यसमा हाम्रो कथा र व्यथा छ ।’ चलचित्रका अभिनेता दयाहाङ राईले विस्तारै नेपालका विविध संस्कृतिले चलचित्रमा मूलरुपमै स्थान पाउन थालेको बताए । उनले भने, ‘यो जरुरी पनि थियो । किनकि हामीसँग हाम्रो मौलिक कथा धेरै छन् । नीरफूलजस्ता चलचित्रले कथामा विविधता ल्याउँछन् ।’ उनले यस्ता चलचित्रको महत्व कालान्तरमा अझै बढी हुने बताए । ‘जारी’ ले प्राप्त गरेको सफलताले विविध संस्कृतिलाई चलचित्रको पर्दासम्म आइपुग्न व्यावसायिक जोखिमसमेत कम गरिएको उनको भनाइ थियो । हिमाली भेगमा छायाङ्कन गर्नुपर्ने भएकाले धादिङगको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिए । ‘हामीलाई हिउँ नभएको हिमाली भूभाग चाहिएको थियो । त्यहीँ क्रममा त्यहाँ पुग्दा छायाङ्कन गर्ने तय गर्यौं’, निर्देशक वलले भने । अभिनेता राईले सन १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधैँ बाँचिरहने चलचित्र ‘नीरफूल’ बनेको बताए । उनले भने, ‘यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । यसमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’ भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा लेखन निर्देशक वल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् ।

मण्डला थिएटरमा ‘बुद्ध र भिखारी’ मञ्चन, जेठ ३२ गतेसम्म चल्ने

काठमाडौं । नाटक प्रेमी दर्शकका लागि काठमाडौँमा दुई नाटक मञ्चन भइरहेका छन् । थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि नाटक ‘बुद्ध र भिखारी’ मञ्चन भइरहेको छ । चुलाचुली थिएटरको प्रस्तुति रहेको ‘बुद्ध र भिखारी’लाई चेतन आङथुपोले नाट्य रूपान्तरण तथा अनुवादन र परिकल्पनासँगै निर्देशन अनिल सुब्बाले गरेका हुन् । ‘आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा प्रस्तुत गरेका छौँ,’ निर्देशक सुब्बाले भने । नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’मार्फत मञ्चन गरिने निर्देशक सुब्बाले जानकारी दिए । यही जेठ ३२ गतेसम्म मञ्चन हुने नाटकमा कलाकार नवीनचन्द्र अर्याल, वेदना राई, प्रतिना राई, रमिता राई, रुपेश लामा, गणेश ताण्डव, सुनिल तामाङ, सौजन सेनेहाङ लिम्बू, सञ्जीव योगी, मनिष मगर, मोहन राईले अभिनय गर्नुभएको छ ।

भोली विराटनगरमा एनसेल कन्सर्ट हुँदै

काठमाडाैं । एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा भाेली (जेठ १३ गतेऽ शनिबार) कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरू रहनेछन् । विशेषगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्य, आफन्तजन तथा साथीभाइसँग सांगीतिक कार्यक्रममार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको एनसेलले जनाएको छ । कार्यक्रम दिउँसो २ बजे सुरु भई बेलुका ८:३० बजेसम्म चल्नेछ । कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनील पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी कन्सर्टको टिकट निःशुल्क पाउन सक्नेछन् । वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशमा रहेका आफ्ना परिवारसँग सुलभ दरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा सहभागी हुन अन्तर्राष्ट्रिय कलिङ प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आह्वान गरेको छ ।