मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ । महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ । डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए । ‘कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको हो । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनेका छौँ,’ उनले भने । चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा ५ प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ ।

चर्चित गायक तथा अभिनेता रोबिन तामाङ घरमै मृत भेटिए

काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको निधन भएको छ । मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दका अनुसार उनी आफ्नै घरको कोठाभित्रबाट ढोका लक भएको अवस्थामा मृत भेटिएका हुन् । घटनास्थलमा शङ्कास्पद केही नभेटिएकोले कानुनी प्रक्रिया र्पुयाएर शव पोस्टमार्टमका लागि पठाएको उनले खुलाए । रोबिनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । बुधबार बिहान १० बजे उनको शव पोष्टमार्टम हुनेछ । रोबिनले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरूमा समेत अभिनय गरेका छन् । चिसो चिसो हावामा, जति माया लाए पनि, भुलमा भुलियो लगायत उनका चर्चित गीतहरू हुन् । रोबिनले छड्के, मुखौटा, जय पर्शुराम, चिसो एस्ट्रेलगायत दर्जनौं फिल्महरूमा पनि अभिनय गरेका छन् ।

प्रेम गीत ३ डिशहोममा प्रदर्शन हुँदै

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने जनाएको छ । ‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलव्ध हुनेछ । यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।