चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।

ग्राण्डीको तीज अफर : महिलालाई उपचारमा छुट

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ । काठमाडौंको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो । ग्राण्डीले रु चार हजार ६०० मा महिलाको गाइने कन्सल्टेन्ट, ओपिडि, सुगर जाँच, सिविसी, क्रेटिनाइन, टिएसएच, युरिन रुटिङ, पेटको अल्टासाउण्डलगायतका सेवा प्रदान गर्न लागेको हो । अस्पतालका मार्केटिङ शाखाका प्रमुख भास्कर कुमार दासले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले महिलालाई चेकजाँचमा सहुलियतको व्यवस्था गरेको बताए । ग्राण्डीले हरेक वर्ष झैँ यसवर्ष पनि तीजको अवसरमा सहुलियत प्रदान गरेको हो । आजदेखि सुरु भएको उक्त सेवा आगामी भदौ महिनाभर लागू हुने अस्पतालले जनाएको छ । ग्राण्डीले विभिन्न चाडपर्व र अस्पताल स्थापनाको समयमा विभिन्न छुट दिँदै आएको छ ।

साफ यू-२० च्याम्पियनसिप फुटबलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडीमा हुने

काठमाडौं । भदौ २ गते देखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच खेलको प्रत्यक्ष प्रसारण गरेको एक्सन स्पोर्टस् एचडी च्यानलले साफ यू–२० च्याम्पियनसिपका खेलहरु पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो । आइतबारदेखि घरेलु मैदानमा हुने दक्षिण एसियाली क्षेत्रका २० वर्षमुनिका युवाहरुको फुटबल प्रतियोगिता (साफ यू–२० च्याम्पियनसिप) मा नेपाली टोलीको चाहना उपाधि जित्ने हुनेछ । उमेर समूहको प्रतिस्पर्धा भए पनि नेपाली टोलीमा राष्ट्रिय टिमबाट र घरेलु लिगहरुमा खेलेको अनुभवी खेलाडी रहनु बलियो पक्ष रहेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन् । कप्तान कुशल देउवासँगै गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बु, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समिर तामाङ र निराजन धामीले गत वर्ष साफ यु–१९ च्यामपियन समेत खेलेका थिए । कुशल, निराजन, अश्विन, हरिशले गत वर्ष नेपाल सुपर लिग पनि खेलेका थिए । फरवार्ड समिर तामाङले गत चैतमा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको खेलमा नेपालको सिनियर टोलीबाट डेब्यु गरेका थिए । समिरको सिनियर टिमको अनुभव काम लाग्ने कुशलले बताए । ‘त्यो हाम्रो लागि एडभान्टेज हुन्छ । एक्सपोजर पाएका खेलाडीहरु छन् र टिम कम्पोज्ड बनेको छ’, कुशलले भने । दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह बी मा छन् । नेपालले १८ अगष्टमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताका खेलहरु संयुक्त रुपमा दशरथ रंगशाला र सातदोबाटोको एन्फा टेक्निकल सेन्टर मैदानमा हुने कम्पनीले बताएको छ । । नेपाली टोली जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, बिक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जन प्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, रोहन खड्गी ।