लाहुर जान हिडेका प्रकाश दुतराज कलाकार बने, गीत गाएरै बुवाआमालाई विदेशबाट फर्काए

म्याग्दी । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए । गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश रहेका भक्तबहादुर दुतराजका पाँच छोराछोरी मध्ये दोस्रो सन्तान प्रकाश अर्मनबाट बेनी आउँदा आठ वर्षका थिए । ‘परिवार ठूलो भएकाले बुवाको विदेशको कमाइ र आमाले ज्याला मजदुरी गर्दा समेत परिवार चल्न समस्या भएपछि मैले नौ देखि १२ कक्षा पढ्दा सम्म बेनीको एक कार्यालयमा मासिक तीन हजार पाँच सय रुपैयाँ ज्यालामा साँझ/बिहान सरसफाइको काम गरेको थिए,’ उनले भने  ‘१२ कक्षा पढ्दै गर्दा भाइ, बहिनीलाई मेरो जिम्मा लगाएर आमा पनि विदेश गएपछि ममाथि अझै जिम्मेवारी थपियो ।’ सानै उमेरदेखि गीत रचना र गाउने गर्दै आएका प्रकाशले कक्षा १० पढ्दा साथीभाई र शुभेच्छुकहरुबाट सहयोग जुटाएर ‘सिमसिम पर्यो पानी…’ बोलको गित रेकर्ड गराएका थिए । बाध्यताले पढाईलाई भन्दा कमाईलाई प्राथमिकता दिनुपर्ने अवस्था आएपछि भाई बहिनीलाई गाउँ पठाएर वैदेशिक रोजगारको तयारीसँगै सांगितिक क्षेत्रमा अवसर खोज्न वि.स. २०७१ मा काठमाडौ छिरेका प्रकाशले दोहोरी साँझमा काम पाए । ‘विदेशको चक्करमा काठमाडौ छिरेको म ज्यान पाल्नका लागि चार वर्ष छ महिना दोहोरी साँझमा काम गरे । दोहोरीसाँझ मेरा लागि गर्जो टार्ने थलो मात्र नभएर गित, संगित सिक्ने पाठशाला पनि भयो,’ उनले भने ‘दोहोरीको तलब र स्रोता दर्शकको ‘टिप्स’बाट बचेको पैसाले आठ वटा गित बनाएपनि आर्थिक हिसाबले फाइदा भएन ।’ विदेशको प्रयासमा वि.स. २०७४–७५ को डेढ वर्ष सांगितिक क्षेत्रबाट टाढिएका प्रकाशले आफन्त, शुभचिन्तक र साथीभाईको आग्रहमा सामाजिक विषयवस्तुसँग जोडिएर ‘आरने’, ‘बैनी झ्यालैमा…’, चोली मैलो भो…, बोलको गित बनाए । आरनेले कृषि औजार निर्माण र मर्मतको काम गर्नेहरु, बैनी झ्यालैले प्रेम कथा र चोली मैलो भो स्कुले जिवनको झल्को दिने कथामा आधारित थियो । सांगीतिक क्षेत्रबाट आर्थिक हिसाबले प्रगति गर्न नसकिने निष्कर्ष निकालेर विदेश जानका लागि बेनीको बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका प्रकाश २०७६ साल फागुनमा काठमाडौं पुगेर आधा पैसा ‘एजेन्ट’लाई दिए । आधा पैसाले गाउँघरमा बुढापाकाबाट सुनेको यातायातको सुविधा नहुदाँ नुन लिन भोट र बटौली गएको कथामा आधारित भएर लेखेको ‘घर कता हो बैनिको, लौन सार्है मन पर्यो’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाउने प्रकाशको योजना थियो । ‘अन्तिम भनेर ‘घर कता हो बैनीको’ भन्ने गीत रेकर्ड र म्युजिक भिडियो बनाएर युट्युमा राखेर घर आएको बेला कोरोना महामारी फैलिएपछि ‘लकडाउन’ भयो,’ प्रकाशले भने ‘गाउँमा आएको एक हप्तापछि इन्टरनेट भएको ठाउँमा गएर हेर्दा ‘युट्युव’मा राम्रो भ्युज र धेरैले ‘टिकटक’ बनाएको देखेपछि सुखीको सिमा रहेन् । विदेश जाने योजना सफल नहुँदा निराश बनेको थिए । गित चल्न थालेपछि कला क्षेत्रमै संघर्ष गर्ने निधो गरे ।’ ‘युट्युव’मा हालसम्म चार करोड बीस लाख ५६ हजार रुपैयाँ भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् । गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाइबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रम उनको आम्दानीको स्रोत हो । प्रकाशका गीतमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उहाँ गीतको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्छन् ।  उनका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन् । मीठास शब्द र संगितले भरिएको गीतको भिडियोमा मार्मिक र अर्थपूर्ण दृष्य र कथा समेटिएका छन् । नेपालीपन भएका सिर्जना स्रोता–दर्शकले मन पराउने प्रकाशको अनुभव छ । ‘अहिलेका दर्शक हरेक दृश्यमा संगीत र कथा खोजिरहेका हुन्छन,’ उनले भने ‘हरेक गीतमा शब्द र संगीतसँगै कथा र दृश्यलाई आफ्नोपन दिलाउने प्रयास गरेको छु ।’ प्रकाश आफू हुर्केको गाउँ–समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । अभाव, दुःख, विभेद, गाउँ–समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गरेको प्रकाशको भनाइ छ । मनोरञ्जनको साथमा सन्देश तयार पारेको गीतको विषयमा आफ्नो टिममा छलफल र उनीहरुको सल्लाह सुझाव अनुसार संगित र म्युजिक भिडियो बनाउदा सफलता मिलेको उनले अनुभव सुनाए । ‘करिम’ बोलको गितको म्युजिक भिडियोको कथा र केही दृष्यको विषयमा भएको विवादलाई उनले कमजोरीबाट पाठ सिक्ने अवसरका रुपमा लिएका छन् । गीत सुन्दा र म्युजिक भिडियो हेर्दा स्रोता दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनुपर्ने हिसाबले काम गर्नुपर्ने प्रकाशको भनाइ छ । युवा विदेशिदा रित्तिएका गाउँघरको परिवेशमा आधारित भएर २०७८ सालको दसैँको छेको पारेर दुतराजले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको ‘जाम भो माइली…’को म्युजिक भिडियो हालसम्म दुई करोड १८ लाख १७ हजार पटक हेरिएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायको जीवन शैली झल्काउने दृष्य समावेश गरिएको प्रेम कहानीमा आधारित ‘रिमै’ले युट्युवमा सार्वजनिक भएको प्रकाशको सबैभन्दा धेरै ‘भ्युज’ पाएको छ ।  हालसम्म चार करोड ७७ लाख २९ हजार पटक हेरिएको रिमैको स्वरमा दुतराजलाई मेलिना राई र अभिनयमा केपीना गोतामेले साथ दिएका छन् । डेढ महिनाअघि प्रकाशले सार्वजनिक गरेको ‘रेशम’ गीतको म्युजिक भिडियोमा बर्खामा लेकका बुकीमा तीन/चार महिना परिवारदेखि टाढा रहेर भेडा गोठमा बस्ने गोठालाको कथालाई प्रस्तुत गरेका छन् । रेशम गीतको भिडियो युट्युबमा राखेको दुई महिनाको अवधीमा एक करोड ३४ लाख ७२ हजार भन्दा बढी पटक हेरिएको छ । सिर्जनाले पाएको तारिफ, स्रोता दर्शकको हौसलाले प्रकाशले लाहुरे बन्ने योजनाबाट विश्राम लिएका छन् । रासस

चाडवाडका बेला दर्शकका रोजाइमा नेपाली चलचित्र, करोडौं कमाइ

 काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दसैँ हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ”, उनले भने । दसैँ लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा-५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार ग(यो । चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो । तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् । “दर्शकहरुले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु”, अभिनेता बरालले भने । चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ । चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, “चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौँ ।” दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङख्या वृद्धि भएको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस

३२ वर्षपछि चलचित्रमा फर्किएका गौचनले ‘केटी हराएको सूचना’ निर्देशन गर्ने

काठमाडौं । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित भएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्ने भएका छन्। झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए । ‘म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु,’ उनले भने । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रीत रहेको उनको भनाइ छ । ‘चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यहि भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ,’ निर्देशक गौचनले भने । चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए । उनले भने, ‘हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ । म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो । त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ । यो मेरो लागि नयाँ अनुभव पनि हो ।’ अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताए । ‘मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो । यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो,’ उनले भने । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।