फेसियल हाउसले पायो ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । लि–डिभाइनले बिहीबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा आयोजना गरेको भव्य समारोहकाबीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, नेपाली चलचित्रका नायक भुवन केसी र भारतकी प्रख्यात अभिनेत्री एवम् राजनीतिज्ञ जया प्रदालगायतले सो अवार्ड फेसियल हाउसलाई हस्तान्तरण गरेका हुन् । जया प्रदा भारतको चलचित्र उद्योग र राजनीतिमा सफल व्यक्तिका रूपमा परिचित छिन् । फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ व्युटिसियन सुष्मा महराको अनुपस्थितिमा सो अवार्ड फेसियल आउसका प्रबन्धक वीरेन तामाङले ग्रहण गरेका थिए । लि–डिभाइनले ‘इन्डो–नेपाल ह्वेयर कल्चर कम्स एलाइभ’ नाराका साथ ‘कल्चरल फेस्टा’ नाम दिएर छैठौँ संस्करणको इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४ आयोजना गरेको हो । कार्यक्रमलाई नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको नेपाल महिला चेम्बरले प्रस्तुत गरेको थियो ।

मिस युनिभर्स नेपालको आधिकारिक टु व्हीलर प्रायोजकमा ‘टिभिएस् एन्टर्क’

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । नेपालमा २०२० देखि शुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीहरुलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ । पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुल्ला राखिएको छ ।

यम बराल साँझबाट उठेको रकम क्यान्सर पीडित गायिका थापालाई हस्तान्तरण

काठमाडौं । लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिनले ‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण गरेको छ । गायन क्षेत्रमा लागेकी थापा अहिले क्यान्सरले थलिएकी कारण उपचारमा ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले सहयोग गरेको हो । अहिले केही रकम क्यान्सर पीडित गायिका थापालाई प्रदान गरिएको अध्यक्ष कल्पना बस्नेतले बताइन् । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा गरेको यम बराल एकल साँझबाट उठेको रकममध्ये केही सहयोग गरेको हो । सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिएको थियो ।